एमालेको गढका रूपमा चिनिएको ललितपुर २ मा २१ फागुनमा हुने निर्वाचनमा १६ दल र सात स्वतन्त्र गरी २३ उम्मेदवार मैदानमा छन् । ०१५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले देशभर चार सिट जित्दा संस्थापक तुल्सीलाल अमात्य ललितपुरबाट निर्वाचित भएका थिए । त्यसयता ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले जितेबाहेक यो क्षेत्रमा कम्युनिस्ट उम्मेदवार निर्वाचित हुँदै आएका छन् । ०६४ मा नेकपा (तत्कालीन माओवादी)ले जितेको थियो । ०६४ र ०७० बाहेक यहाँ एमालेले जित्दै आएको छ ।
तीव्र सहरीकरण भएका ग्वार्को, इमाडोल, टीकाथलीदेखि लुभु, लामाटार हुँदै लाकुरीभञ्ज्याङसम्मको क्षेत्र ललितपुर २ मा पर्छ । महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको नौवटा वडा पर्छन् । ललितपुर महानगरपालिकाको ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ वडा यो क्षेत्रमा पर्छन् । ललितपुर २ मा ३९ मतदानस्थल र १०४ मतदान केन्द्र छन् । यहाँ ८९ हजार ८२ मतदाता छन् । उम्मेदवारहरू सडक मर्मत र विस्तार, खानेपानी व्यवस्थापन, सम्पदा संरक्षणलगायत मुद्दा उठाएर चुनावी अभियानमा छन् ।
ललितपुर २ मा गत निर्वाचनमा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए । एमालेले फेरि उनैलाई उम्मेदवार बनाएको छ । पार्टीको गढ क्षेत्र भएकाले यसपटक पनि चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा एमाले ढुक्क देखिन्छ ।कांग्रेसले प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । उनी ०७४ को प्रदेश सभा निर्वाचनमा ललितपुर २ (२) बाट पराजित भएका थिए । नेकपाबाट राजेन्द्र अमात्य उम्मेदवार छन् ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका राजकाजी महर्जन विजयी भएका थिए । अमात्य ०६४ को नतिजा दोहो¥याउने दाबीसहित चुनावी मैदानमा होमिएका छन् । सञ्चारमन्त्रीबाट राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेका जगदीश खरेल नेवार समुदायको मत प्रभावित पार्न नेवारकै जातीय पोसाकमा प्रचारमा छन् । नेवारी सभ्यताको एजेन्डा मुख्य प्राथमिकतामा रहेको उनी बताउँछन् । गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपाको मत सबैभन्दा बढी आएकाले उनी उत्साहित छन् ।
प्रेमबहादुर महर्जन, एमाले
विकास निर्माणसहितका बाँकी काम पूरा गर्न फेरि मैदानमा उत्रिएको छु । भौतिक विकासका साथै जनताको आत्मविश्वास बढाएर जानुपर्नेछ । पर्यटनमार्फत स्थानीय रोजगारी, साना व्यवसायको विस्तार र आर्थिक समृद्धिको एजेन्डा छन् । यसका साथै पार्टीको केन्द्रीय घोषणापत्रअनुसार काम गर्नेछु । नीति निर्माणका साथै जनसरोकारको विषयलाई प्राथमिकतामा राख्नेछु । अघिल्लोपटक निर्वाचित भएपछि थालिएका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । त्यसका साथै केही थप काम अघि बढाउनेछु ।
राजेन्द्र अमात्य, नेकपा
नेवारी सभ्यताको विकास, सुशासन, समृद्धि र सामाजिक न्यायको विषय मुख्य एजेन्डा हो । झन्झटिला तथा अप्रासंगिक कानुन परिमार्जन गर्नुका साथै सेवा प्रवाह छिटो, सरल र पारदर्शी बनाउनेछु । पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटकमैत्री पूर्वाधार निर्माण तथा स्थानीय व्यवसायको प्रवद्र्धनमा विशेष ध्यान दिनेछु । ललितपुरको पहिचानका रूपमा स्थापित हस्तकलालाई संरक्षण र प्रवद्र्धन गर्नेछु ।
प्रेमकृष्ण महर्जन, कांग्रेस
रूपान्तरित र बदलिएको कांग्रेसप्रति मतदाताले आशा गरेका छन् । यो क्षेत्रमा ०४८ पछि एकपटक मात्र कांग्रेसले जितेको छ । त्यतिवेला हामीले जनताको पक्षमा काम गरेका थियौँ । जनताको पक्षमा काम गर्ने पार्टी कांग्रेस रहेछ भन्ने कुरा जनताले बुझेका छन् । चुनाव गराउनुपर्ने जिम्मेवारी छाडेर चुनावी मैदानमा मन्त्री आउनुलाई जनताले स्वाभाविक रूपमा लिएका छैनन् । सडक, ढल, खानेपानी समस्या समाधान गर्नेछु । विकास, निर्माणका साथै पर्यटन प्रवद्र्धन, मूर्त, अमूर्त सम्पदाको संरक्षणामा विशेष जोड हुनेछ ।
जगदीश खरेल, रास्वपा
जनताले पाउने सेवा–सुविधा दिएर सुशासन दिन सांसदका रूपमा नीति निर्माण गर्नु हो । उद्योग, व्यापार, व्यवसाय धेरै हुने सहरमा पर्छ । त्यसको प्रवद्र्धन गर्नुपर्नेछ । खानेपानी र सडकजस्ता पूर्वाधारमा काम गर्नुपर्नेछ । दरबार स्क्वायरजस्तो विश्वसम्पदा सूचीमा रहेको ठाउँदेखि लिएर लाकुरीभञ्ज्याङ जहाँ नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ । शिक्षा र स्वास्थ्यजस्ता मौलिक अधिकारहरू सुनिश्चित गर्नुपर्नेछ । स्थानीयस्तरमा जनचासोका धेरै काम गर्नुपर्नेछ ।
०१५ देखिको संसदीय इतिहास
नेकपाका संस्थापक तुल्सीलाल अमात्यले ०१५ को आमनिर्वाचनमा ललितपुरबाट जितेका थिए । काठमाडौं उपत्यकामा ०१५ मा निर्वाचन जित्ने उनी एक्ला वामपन्थी थिए । नेकपाले देशभर चार सिट जित्दा अमात्य संसदीय दलको नेता बनेका थिए । यो क्षेत्रमा लामो समयसम्म वामपन्थीको प्रभाव रह्यो । ०४८ र ०५१ को निर्वाचनमा एमालेका सिद्धिलाल सिंह निर्वाचित भएका थिए । ०५६ मा एमालेकै कृष्णलाल महर्जन विजयी भए । ०६४ मा तत्कालीन माओवादीका राजकाजी महर्जनले जितेका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका चन्द्र महर्जनले जितेका थिए ।
०७९ को समानुपातिकमा रास्वपा अगाडि
गत ०७९ को निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले ११ हजार ८९५ मत ल्याएको थियो । एमालेले ११ हजार ८५, कांग्रेसले नौ हजार २५२, राप्रपाले सात हजार ६९५, हाम्रो नेपाली पार्टीले चार हजार ४३, नेकपा ३ हजार ४५६ (तत्कालीन माओवादी र एकीकृत समाजवादी) र नेमकिपाले एक हजार ८३६ मत ल्याएको थियो ।