धादिङ बस दुर्घटना : पोखराबाट छुट्ने क्रममा ३४ यात्रु र चालक दलका दुई गरी ३६ जना सवार थिए बसमा

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

त्रिशूली नदीमा सोमबार बिहान दुर्घटना भएको बस पोखराबाट छुट्ने क्रममा ३४ जना यात्रु र चालक दलका दुई गरी ३६ जना सवार रहेको जनाइएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत सञ्चलित सो बस आइतबार साँझ ७ः३० बजे पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्कबाट काठमाडौंका लागि छुटेको कम्पनीका अध्यक्ष ऐनकुमार शाहीले जानकारी दिए । यात्राका लागि टिकट काटेका सबै यात्रुले काठमाडौंसम्मको टिकट काटेका र बिचमा झर्ने कोही पनि नरहेको उनले बताए ।

पोखराबाट ३६ जनासहित गएपछि बाटोमा कति यात्रु चढे–चढेनन् सो भने थाहा नहुने उनले बताए । पोखराबाट जाने सबैले काठमाडाैंसम्मको टिकट काटेकाले ३४ यात्रु र चालकदलका दुई गरी ३६ जना बसमा सवार रहेको यकिन भए पनि बाटोमा चढे–नचढेको जानकारी नरहेकाले कतिजना सवार थिए सो भने यकिन गर्न नसकिने उनले बताए । पोखराबाट जाँदै गरेको ग.२ख १४२१ नम्बरको कम्पनीअन्तर्गत सञ्चालित सो बस माछापुच्छ्रे  टुर एन्ड ट्राभलको हो ।

सो दुर्घटनामा हालसम्म १८ जनाको मृत्यु भएको र घाइतेहरूको उपचार भइसकेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार