दोहोरो जन्मदर्ता गराउँदा साढे दुई लाख रुपैयाँ घुस लिएको अभियोग लागेका पोखरा महानगरपालिकाको वडा नम्बर १७ का तत्कालीन सचिव प्रभात लामिछानेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। गत वर्ष चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेकोमा आइतबार विशेष अदालतले सफाइको फैसला गरेको हो।
स्थानीय दिनेश लामिछानेको जन्मदर्ता गर्दा बैंक खातामै घुस लिएको अभियोग उनलाई लागेको थियो। सुरुमा दिनेश दयालु लामिछानेको नाममा जन्मदर्ता रहेकोमा पछि दिनेश लामिछानेको नाममा उनले अर्काे जन्मदर्ता गरिदिएको र त्यसबापत साढे दुई लाख रुपैयाँ लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। घुस दिने दिनेशलाई पनि आयोगले प्रतिवादी बनाएकोमा उनले पनि सफाइ पाएका छन्।