बुटवल उवासंघको स्थापना दिवसमा अक्षयकोष स्थापना

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

 बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ स्थापना दिवस आइतबार मनाइँदै छ । संघले स्थापनाकालदेखि नै उद्योगी–व्यवसायीको हकहित तथा व्यावसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासमा लगानीसहितको योगदान गर्दै आएको संघले औपचारिक कार्यक्रम आयोजना गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए । उनका अनुसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठसहित निजी तथा सरकारी सेवाका प्रतिनिधिको सहभागिता रहनेछ ।

संघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष एकजना पूर्वअध्यक्षलाई सम्मान गर्दै आएको छ । यस वर्ष पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गर्न लागिएको हो । लाकौल ०६१ देखि ०६३ सम्म संघको अध्यक्ष थिए । पूर्वअध्यक्ष लाकौलले यस क्षेत्रको औद्योगिक, व्यावसायिकसहित आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानको मूल्यांकनसहित सम्मान गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

सोही कार्यक्रममा संघले बुटवलका तीनवटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नेछ । अध्यक्ष अर्यालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ४ स्थित कान्ति माध्यमिक विद्यालयमा, बुटवल– ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा र वडा नं ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिनेछ । त्यसैगरी, संघको औषधि व्यवसायी वस्तुगत समितिको समन्वयमा मानव सेवा आश्रमलाई औषधि प्रदान गरिने बताइएको छ ।

सुझावित समाचार