नेपालको पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरिएको छ । भारतको नयाँ दिल्लीमा जारी ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ सहभागी नेपाली सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
शुक्रबारदेखि सुरु भएको महोत्सवमा दुई देशका नीति–निर्माता तथा उद्यमी–व्यवसायीबिच अन्तक्र्रिया भेटघाटलगायत कार्यक्रम भइरहेका छन् । महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी–व्यवसायी एवं लगानीकर्तालाई आह्वान गरेका हुन् ।
‘नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना छ,’ उनले भने, ‘यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्छु ।’ नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारणलाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए । यसैगरी, पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटेल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराए । यसका लागि निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको र दीर्घकालीन रूपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधार भइरहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा उनले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । नेपाल–भारतबिच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।
भारत नेपालको प्रमुख व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै ढकालले खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबिचको साझेदारीलाई विशिष्ट बनाएको बताए । विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृंखलामा अवरोधको अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रबिच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।
भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उनको धारणा थियो । ‘कनेक्टिक पिपुल, इन्ह्यान्सिङ बाइलाटरल ट्रेड’ भन्ने मूल नाराका साथ आयोजना हुने फेस्टिभलका लागि १० उच्चस्तरीय सत्र, ६० वक्ता र ६५ भन्दा बढी स्टल तोकिएका छन् ।