मनाङ सदरमुकाम चामे हुँदै नार्पाभूमितर्फ जाने बाटोमा सडकको बरफ पन्छाउन चार दिनदेखि सुरक्षाकर्मी खटिएका छन् । मनाङको नार्पाभूमिमा पाँचवटा मतदास्थल छन् । सदरमुकाम चामेबाट उक्त क्षेत्र पुग्न हिँडेर दुई दिन लाग्छ । निर्वाचनको मिति नजिकिँदै गएकाले सुरक्षाकर्मीलाई कुनै हालतमा मतपेटिका पुर्याउनुपर्नेछ । तर, सडक, खोलादेखि झरनासमेत बरफले ढाकेका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले हिउँले अवरुद्ध सडक र झरनाका ढिस्को हटाउन सुरक्षाकर्मी चार दिनदेखि खटिएको बताए । ‘मौसमी प्रभावले सडकमा रहेका झरना जमेर बरफ हुँदा सेनाले सडकमा जमेको बरफ पन्छाएर सडक सञ्चालन गर्न लागिपरेको हो,’ उनले भने । ती क्षेत्रमा करिब सात सय मिटरसम्म बरफ जमेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नार्पाभूमि गाउँपालिका– १ देखि ३ को मतदानस्थल नारक्षेत्रमा तोकिएको छ । त्यस्तै, वडा नम्बर ४ र ५ को निर्वाचनस्थल भने फू क्षेत्रमा तोकिएको छ । नारमा तीनवटा र फूमा पाँचवटा मतदान केन्द्र तोकिएका छन् । ती क्षेत्रमा पुग्न वडा नम्बर १ मा पर्ने धर्मशालास्थित झरना छिचोल्नुपर्छ । तर, झरना जमेर चट्टान जस्तो भएको छ । जसलाई फुटाउन नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म र जिल्ला प्रहरी कार्यालय मनाङको करिब २० सुरक्षाकर्मी चार दिनदेखि दिनरात खटिएका छन् ।
प्रशासन कार्यालय मनाङका अनुसार धर्मशाला झरना पुग्नै चामेबाट करिब सात घन्टा लाग्छ । जमेको बरफका ढिस्को फुटाउन सुरक्षाकर्मीले गैँती, साबेल, हम्मर, छिनो, हिँउ काट्ने बन्चरोलगायतका औजारसँगै लिएर गएका थिए । धर्मशाला नजिकै क्याम्प बनाएर बसेका सुरक्षाकर्मी बिहानै औजार लिएर घटनास्थल पुग्छन् । घन र छिनोले बरफका ढिस्को फुटाउँछन् । र, बाटो बनाउँछन् । मनाङमा सात हजार मतदाता छन् । जिल्लामा २९ वटा मतदानस्थल छन् ।