सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दा दायर गरिएको थियो । सम्पत्ति शुद्धीकरण ऐन, २०६६ जारी भएपछि भने अर्थ मन्त्रालयमातहत रहने गरी विभागलाई यस्तो मुद्दा हेर्ने जिम्मेवारी दिइएको हो । सो मितिदेखि चालू आव ०८/८३ को ६ महिनासम्म एक सय २६ मुद्दा दर्ता गर्दा विभागले एक खर्ब दुई करोड रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।
चालू आवको ६ महिना भने विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध पाँचवटा मुद्दा दर्ता गरेको छ । उक्त अवधिमा विभागले विभिन्न कसुरमा सम्बद्ध ४४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दै आठ अर्ब ८१ करोड रुपैयाँबराबरको बिगो दाबी गरेको हो । ६ महिनामा पाँचवटा मात्रै मुद्दा दर्ता भए पनि चार सय ५८ वटा उजुरी–सूचना आएको विभागले जनाएको छ ।
तर, विभागले नयाँ उजुरीका आधारमा भने मुद्दा दायर गरेको होइन । नयाँ कानुनी व्यवस्थाअनुसार ०८० चैत मसान्तसम्म परेका उजुरीका आधारमा मात्रै विभागले मुद्दा दायर गरिरहेको महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । ‘०८१ वैशाखदेखिका उजुरी हामीले सम्बन्धित निकायमै पठाउने गरेका छौँ,’ उनले भने, ‘यद्यपि, हामीले प्रारम्भिक अनुसन्धान भने गर्ने गरेका छौँ, आवश्यक परेको अवस्थामा सम्बन्धित निकायलाई अनुसन्धानमा पनि सघाउँदै आएका छौँ ।’
दर्ता भएकामध्ये अन्य निकायको क्षेत्राधिकार पर्ने भन्दै विभागले एक सय १९ वटा उजुरीलाई सम्बन्धित निकायमा कारबाहीका लागि लेखिपठाएको हो । यस्तै, आरोपीको पहिचान एवं उजुरीको व्यहोरा प्रस्ट नभएको, सक्षम निकायलाई सम्बोधन गरी बोधार्थका रूपमा प्राप्त भएका एवं देवानी विवाद समावेश भएकाले तत्काल कारबाही गर्नुपर्ने नदेखिई अभिलेखमा जनाइएका उजुरी संख्या १ सय ७१ रहेको विभागले उल्लेख गरेको छ ।
गत आव ०८१/८२ मा विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध २० वटा मुद्दा दायर गरेको थियो । विभागले बाल यौन दुव्र्यवहार, लागुऔषध, राजस्व चुहावट, बंैकिङ कसुर, सुन तस्करी, ठगी, आपराधिक विश्वासघाट तथा संगठित अपराध, जुवा, विदेशी विनिमयको अवैध कारोबारसमेत, हुुन्डी, सहकारी गठी र संगठित अपधार, भन्सार चोरी–पैठारी र अपहरणलगायत सम्बद्ध कसुरमा सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलाएको हो । विभागले एक सय १९ जनालाई ७९ अर्ब ४२ करोड रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो ।
मुद्दामा सफलता कति ?
सुरुदेखि गत असारसम्ममा विभागले सम्पत्ति शुद्धीकरणविरुद्ध एक सय २१ वटा मुद्दा दायर गरेको छ । जसमा ९३ अर्ब ६९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमध्ये ९९ वटा मुद्दा फैसला भइसकेका छन् । ठहर भएका मुद्दा ८० वटा तथा सफाइ भएका मुद्दा १८ वटा रहेको विभागले उल्लेख गरेको छ । विभागले सम्पत्ति शुद्धीकरणविरुद्धको मुद्दामा ८१ प्रतिशत सफलतादर भएको उल्लेख गरेको छ ।
चालू आवको ६ महिनाको तथ्यांकसमेत समायोजन गर्दा हालसम्म सम्पत्ति शुद्धीकरणविरुद्धका मुद्दा एक सय २६ वटा पुगेको देखिन्छ । विभागले प्रतिवादीविरुद्ध एक खर्ब दुई करोड बिगो दाबीसमेत गरेको छ । हालसम्म सर्वोच्च अदालतबाट फैसला भएका मुद्दा १६ वटा पुगेका छन् । त्यसमध्ये तीन वटाले सफाइ पाएको र १२ वटा कसुर कायम भएको विभागले जनाएको छ । यसमा ८० प्रतिशत सफलतादर भएको विभागले उल्लेख गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर भन्छन्–नयाँ कानुनी व्यवस्थाअनुसार ०८० चैत मसान्तसम्म परेका उजुरीका आधारमा मात्रै विभागले मुद्दा दायर गरिरहेको छ । ०८१ वैशाखदेखिका उजुरी सम्बन्धित निकायमै पठाउने गरेका छौँ । यद्यपि, हामीले प्रारम्भिक अनुसन्धान भने गर्ने गरेका छौँ, आवश्यक परेको अवस्थामा सम्बन्धित निकायलाई अनुसन्धानमा पनि सघाउँदै आएका छौँ ।
