सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जान्थे । सेठले एउटा सुगा पालेका थिए । एक दिन सुगाले सेठसित सोध्यो– सेठजी, तपाईंहरू हरेक दिन कहाँ जानुहुन्छ ? सेठले जवाफ दिए– हामी हरेक दिन साधुमहाराजको सत्संग सुन्न जान्छौँ ।
सेठजीको जवाफ सुनेपछि सुगाले भन्यो– ‘हजुरहरू सत्संगमा जानुहुन्छ भने कृपया साधुमहाराजसँग म कहिले स्वतन्त्र हुन्छु भनेर पनि सोधिदिनुहोस् न है ?’ हुन्छ भनी सत्संग सुन्न गए । सत्संग समाप्त भयो । सबै श्रोता बाहिरिएपछि सेठजीले सोधे– ‘साधुमहाराज, मैले एउटा सुगा पालेको छु । त्यसले आज एउटा प्रश्न हजुरसामु राखिदिन अनुरोध गरेको छ । ऊ जान्न चाहन्छ कि ऊ कहिले स्वतन्त्र हुनेछ ?’
प्रश्न सुन्नासाथ साधु महाराज बेहोस भएर ढले । उनलाई सहयोगीले उठाएर आश्रमको भित्री भागमा लगे । सेठ चुपचाप त्यहाँबाट निस्किए । उनी घर पुग्नासाथ सुगाले सोध्यो– ‘सेठजी, मेरो स्वतन्त्रताबारे साधु महाराजले के भन्नुभयो त ? ’ सेठले भने– ‘तेरो भाग्य नै खोटो रहेछ । प्रश्न सोध्नासाथ साधु महाराज बेहोस भएर ढल्नुभयो ।’ सेठको जवाफ सुनेपछि सुगाले भन्यो– ‘केही छैन सेठजी, मैले बुझेँ ।’
अर्को दिन बिहान सेठ र उनकी पत्नी सत्संगका लागि निस्किँदै थिए, त्यति नै खेर सुगा पिँजरामा जानाजान छट्पटाउँदै बेहोस भएर ढल्यो । सेठलाई लाग्यो, ला ! सुगा त म र्यो कि क्या हो ! उनले सुगालाई पिँजराबाट बाहिर निकाले । मौका पाउनासाथ सुगा भुर्र उडेर बेपत्ता भयो ।
सत्संगमा पुग्नासाथ साधुले सेठसित सोधे– ‘हिजो तपाईं सुगाको बारेमा केही सोध्दै हुनुहुन्थ्यो, अब ऊ कहाँ छ ?’ सेठले भने– ‘महाराज, आज बिहानै ऊ जानाजान बेहोस भएको नाटक गरेर पिँजरामा लडेको रहेछ । मैले ऊ मरेछ भन्ने ठानेर बाहिर निकाल्नासाथ उडेर बेपत्ता भयो ।’
सेठको जवाफ सुनेपछि मुसुक्क मुस्कुराउँदै साधुले भने– ‘हेर्नुहोस् त सेठजी, तपाईं यति धेरै दिनदेखि सत्संग सुनेर पनि अझै सांसारिक मायामोहको पिँजरामा फसिरहनुभएको छ, तर त्यो सुगा भने सत्संगमा नआईकनै पनि मेरो एउटा इसारा बुझेर स्वतन्त्र भयो ।’