नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले सबै प्रकारका सवारीसाधनमा सवारीसाधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एलटिभी रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न माग गरेको छ । नाइमाले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसमक्ष औपचारिक यस्तो माग गरेको हो ।
यसमा ६० प्रतिशतको सीमा हुँदा अटोमोबाइल बजारमा सुस्तता देखिएको हो । ‘उच्च प्रारम्भिक भुक्तानीको आवश्यकताका कारण धेरै उपभोक्ता सवारीसाधन खरिद गर्न असमर्थ भएका छन्, जसले बिक्रीमा कमी ल्याएको मात्र नभई समग्र आर्थिक गतिविधि तथा राजस्व संकलनमा समेत प्रत्यक्ष प्रभाव पारेको छ,’ नाइमाले भनेको छ, ‘अटोमोबाइल क्षेत्र भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमार्फत सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्याउने क्षेत्रमध्ये एक हो । सवारीसाधन बिक्रीमा वृद्धि हुँदा राजस्व संकलनमा ठोस तथा सकारात्मक प्रभाव पर्ने नाइमाको विश्वास छ ।’