१५ औँ ओभरसम्म नेपाल कठिन स्थितिमा हुँदा वानखेडे रंगशालामा सन्नाटा छाइरहेको थियो । स्कटल्यान्डका बलरले नेपाली ब्याटरविरुद्ध दबाब बनाइरहेका थिए । नेपाल लगातार चौथो हारतर्फ अग्रसर थियो । चिरपरिचित प्रतिद्वन्द्वी स्कटल्यान्डलाई जित्नैपर्ने थियो । मैदानमा १६ हजार समर्थक नेपालको जितको पर्खाइमा थिए । १६औँ ओभर लिएर स्कटल्यान्डका माइकल लिस्क आए । यही ओभरबाट माथि बढे मात्रै जित पक्का थियो ।
नेपाललाई हरेक ओभरमा १२ रन चाहिएको थियो । क्रिजमा थिए, दीपेन्द्र सिंह ऐरी र गुल्सन झा । पहिलो बलमै दीपेन्द्रले मिडविकेटमा छक्का हिर्काए । दर्शकको गुञ्जनले वानखेडे रंगशाला तातियो । दीपेन्द्रले लगातार दुई छक्का हिर्काएपछि दर्शकको ताली थामिएन । स्कटल्यान्ड दबाबमा पर्यो । यही अवस्थाबाट नेपालले माथि उठ्दै १२ वर्षपछि विश्वकपमा जित निकाल्यो ।
१६औँ ओभरमा दीपेन्द्रले एक्लै १९ रन लिएका थिए । स्कटल्यान्डविरुद्ध एकाध मिनेटमै फरक कथा बन्यो । नेपालले दुईपटकको च्याम्पियन वेस्ट इन्डिज र इंग्ल्यान्डसहित इटाली र स्कटल्यान्डविरुद्ध खेल्दा दीपेन्द्र छाएका थिए । प्रतियोगितामा अरू नेपाली खेलाडी खासै चल्न नसक्दा दीपेन्द्रले भने आफ्नो लयलाई निरन्तरता दिए । चाहे हारेको खेलमा होस् या जितेको खेलमा ।
भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर इरफान पठानले त आफ्नो सोसल मिडियामा दीपेन्द्रको खुलेरै प्रशंसा गरे । स्कटल्यान्डविरुद्ध अर्धशतक बनाएपछि उनले ६.५ मिलियन फलोअर्स भएको आफ्नो एक्सको पेजमा लेखे, ‘अल्वेज इन्जोय वाचिङ दीपेन्द्रसिंह ऐरी । प्रेसर वाज अन ह्वेन ही कम टु ब्याट । ही ह्यान्डलेड इट भेरी नाइस ।’दीपेन्द्रको प्रदर्शनबाट नेपालका पूर्वकप्तान पारस खड्का पनि खुसी छन् । उनी भन्छन्, ‘दीपेन्द्रजस्तो खेलाडी पाउँदा हामी सबै भाग्यमानी छौँ । दीपेन्द्रले आफ्नो क्षमता विश्वकपमा देखाएका छन् ।’
वानखेडे रंगशालामा नेपालले तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्यो । दुईपटकको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध नेपाल नौ विकेटले पराजित भयो । तर, यो खेल दीपेन्द्रका लागि विशेष रह्यो । उनले टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाएका थिए । यो अर्धशतक १२ वर्षपछि विश्वकपमा नेपालले बनाएको हो ।
२६ वर्षीय दीपेन्द्रले इंग्ल्यान्डविरुद्ध ४४ रन बनाएका थिए । रन मात्रै होइन, यी अलराउन्डरले दुई विकेट पनि लिए । साम करण र ज्याकोब बेथेलजस्ता आक्रामक ब्याटरलाई आउट गराएका थिए उनले । भलै, यो खेलमा अन्य मध्यक्रमका ब्याटर चल्न सकेनन् । ४२ रन बनाउँदा दुई विकेट गुमाएपछि दबाबमा आएको नेपालका लागि दीपेन्द्रले कप्तान रोहित पौडेलसँग ८२ रनको साझेदारी गरेका थिए । तर, नेपाल मध्यक्रम र डेथ ओभरमा चुक्यो । नत्र नेपालले इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित निकाल्ने थियो । त्यति मात्रै होइन, सुपर एटको ढोका खुल्ने थियो । तर, त्यसो हुन सकेन ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटाले दीपेन्द्रलाई यू–१९ टिमबाटै हेर्दै आएका छन् । चाहे राष्ट्रिय टिम होस् या एनपिएलको सुदूरपश्चिम रोयल्समा । दीपेन्द्रका प्रशिक्षक हुन् जगत टमटा । विश्वकपको प्रदर्शनपछि प्रशिक्षक टमटा पनि दंग छन् । उनी भन्छन्, ‘दीपेन्द्रले सानैदेखि मिहिनेत गरिरहेको छ । त्यही मिहिनेतपछि विश्वकपमा पनि उस्तै लय कायम राख्यो,’ टमटा भन्छन्, ‘विश्व क्रिकेटमा उसको चर्चा हुँदा म निकै खुसी छु ।’
इटालीविरुद्ध १० विकेटको लज्जास्पद हारमा पनि दीपेन्द्रले १७ रन जोडेका थिए । यो खेल भने दीपेन्द्र मात्रै होइन, कुनै पनि नेपालीका लागि सहन सक्ने अवस्था थिएन । भारतीय पत्रकारदेखि क्रिकेट विज्ञले पनि नेपालको इटालीविरुद्धको प्रदर्शन चित्त बुझाएका छैनन् । ‘इटालीविरुद्ध हामीले धेरै गल्ती ग¥यौँ,’ दीपेन्द्र नै भन्छन्, ‘हामीले इटालीविरुद्ध राम्रो गरेको भए माथि बढ्न सजिलो हुन्थ्यो ।’
वानखेडे रंगशालामा नेपालले तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्यो । दुईपटकको च्याम्पियन वेष्ट इन्डिजविरुद्ध नेपाल नौ विकेटले पराजित भयो । तर, यो खेल दीपेन्द्रका लागि विशेष रह्यो । उनले टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाएका थिए । यो अर्धशतक १२ वर्षपछि विश्वकपमा नेपालले बनाएको हो । यसर्थ, दीपेन्द्र १२ वर्षपछि विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी बने । यसअघि सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।
चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्रले एक्लै ५८ रन बनाए । ४.१ ओभरमा १७ रन बनाउँदा तीन विकेट गुमाएपछि दीपेन्द्र क्रिजमा आएका थिए । दबाबबिच दीपेन्द्रले नेपाली टिमलाई १९.२ ओभरसम्म १२७ रनमा पुर्याए । त्यसपछि नेपाल विश्वकपकै लो स्कोरिङबाट बचेको थियो । चौथो खेलमा भने दीपेन्द्रले सानदार प्रदर्शन गरे । २३ बलमा चार चौका र तीन छक्का हिर्काए । फिनिसरको भूमिका खेले । उनी र गुल्सनले नेपाली टिमलाई जितसम्म पुर्याएका थिए ।
यो खेलमा दीपेन्द्र मैदानको चारैतर्फ छाए । चौका र छक्का उनले मैदानका चारैतर्फ पुर्याएका थिए । दीपेन्द्रले समूह चरणमा एक सय ६९ रन बनाए । उनी बुधबारसम्म सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा थिए । विश्वकपमा अलराउन्ड प्रदर्शनपछि उनी आइसिसी वरीयताको अलराउन्डतर्फ चौथो स्थानमा पनि उक्लिए ।‘स्कटल्यान्डविरुद्ध दीपेन्द्रको प्रदर्शन उच्चकोटीको थियो । मैदानको चारैतिर सर्ट खेलेका छन्,’ प्रशिक्षक टमाटा भन्छन्, ‘अब त खेल्ने शैली निकै परिवर्तन भएको छ । उसको भविष्य अझै उज्ज्वल छ । पिएसएलमा झनै राम्रो गर्न सक्छन् ।’
हारपछि स्कटल्यान्डका बलर ब्राड क्युरीले पनि दीपेन्द्रको क्षमता र प्रदर्शनको तारिफ गरेका थिए । ‘दीपेन्द्र धेरै राम्रा खेलाडी हुन् । यो सबैलाई थाहा भएकै हो । उनले राम्रो खेल्दा हामीलाई गाह्रो भयो ।’विश्वकप खेलिरहँदा प्रशिक्षक टमाटाले भनेजस्तै दीपेन्द्रले अर्काे सफलता हासिल गरेका छन् । उनी पाकिस्तान प्रिमियर लिगमा इस्लामाबाद युनाइेटडबाट खेल्न छनोट भएका छन् । उनी सन्दीप लामिछानेपछि पिएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सके, दीपेन्द्रको आगामी बाटो झनै उज्ज्वल हुनेछ ।
कञ्चनपुरबाट विश्वमैदानमा
२६ वर्षअघि दीपेन्द्रको जन्म कञ्चनपुरको महेन्द्रनगरमा भएको थियो । दायाँहाते ब्याटर तथा अफ स्पिनर दीपेन्द्रले स्कुुलबाटै क्रिकेटसँगै फुटबल र भलिबल खेल्न थालेका हुन् । तर, उनको क्षमता र लगन भने क्रिकेटमा बढी रह्यो । सुदूरपश्चिमका माटो नै क्रिकेटको भनेझँै भयो । गाउँमा प्रदीप ऐरी दाजुले नेपाली उमेर समूहबाट खेलिसकेका थिए । तत्कालीन समय प्रदीपको चर्चा राम्रो थियो ।
प्रदीपबाट सिक्दै दीपेन्द्रले पनि क्रिकेटमै ध्यान दिए । स्कुलमा पढ्दा समय मिलाएर क्रिकेट सिक्न थाले । त्यो दिन प्रशिक्षक टमाटाले अझै ताजा छ । ‘दीपेन्द्र स्कुलमा खेल्दादेखि नै निकै ट्यालेन्ट हुन्,’ उनले भने, ‘स्कुलमा राम्रो खेलेको देखेपछि मै प्रशिक्षक हुँदा यू–१९ टिममा समावेश गरेको हुँ ।’दीपेन्द्रले सन् २०१६ मा भएको यू–१९ विश्वकप खेलेका थिए । प्रशिक्षक थिए, जगत टमाटा नै । यू–१९ टिममा समेत राम्रो प्रदर्शन गरेपछि दीपेन्द्रले सन् २०१७ मा १७ वर्षको उमेरमै केन्याविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् । यसपछि उनले आफूलाई फर्केर हेर्नुपरेको छैन ।
नेपालका चर्चामा रहेको अहिलेको एनपिएलदेखि एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगले दीपेन्द्रलाई झनै खारिने अवसर थियो । एनपिएलको दुवै संस्करणमा दीपेन्द्रले टिमलाई फाइनलमा पुर्याएका छन् । सन् २०२३ चीनमा भएको एसियन गेम्सपछि भने दीपेन्द्रलाई विश्वभरबाट पछ्याउन थालियो । मंगलोलियाविरुद्ध उनले ९ बलमै अर्धशतक बनाए । यस्तो क्षमता भएका क्रिकेटर विश्वमै कम छन् । ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान पनि दीपेन्द्रको नाममा छ । पछिल्लो समय डाइरेक्ट हिटमार्फत विपक्षीलाई रन आउट गर्न थालेपछि विश्वस्तरीय खेलाडीले उनको प्रशंसा गर्न कुनै कमी राख्दैनन् । दीपेन्द्र नेपालबाट टी–२० आईमा दुई हजार रन पूरा गर्ने एक्ला खेलाडी हुन् । यता, एकदिवसीयमा समेत एक हजार रन पूरा गरिसकेका छन् ।
पारस खड्का
पूर्वकप्तान
दीपेन्द्र शतप्रतिशत कमिट्मेन्ट, टिम स्पिरिटलाई बुझ्ने निकै मिहिनेती खेलाडी हुन् । विश्वकपमा उनले आफ्नो क्षमता देखाएका छन् । मिहिनेतसँगै नतिजा पनि आएको देखिन्छ । क्षमता धेरै छ उनीसँग । मानसिक रूपमा कसरी बलियो हुनुपर्छ, दीपेन्द्रले बुझेका छन् । टिमका लागि जुनै पनि भूमिका निर्वाह गर्न सक्ने खेलाडी हुन् । फिल्डिङमा त नेपाली क्रिकेट र विश्व क्रिकेटकै सबैभन्दा सफल खेलाडी हुन् । यस्तो खेलाडी पाउनु नेपाली क्रिकेटको भाग्य हो ।
जगत टमाटा
पूर्वप्रशिक्षक
दीपेन्द्रको खेल यू–१९ टिमबाटै हेर्दै आएको छु । २०१६ को क्वालिफायर्समा राम्रो खेले । श्रीलंकामा यू–१९ मा खेल्दादेखि नै उनको क्षमता राम्रो थियो । वानखेडेमा पनि उही प्रदर्शन गरे । ब्याटिङ, बलिङ र फिल्डिङमा उनले सबैभन्दा राम्रो गर्दै आएका छन् । दर्शकलाई खुसी बनाए । राम्रा बलरलाई डर देखाए । स्टार्टिङ पनि राम्रो गरे । मैदानको चारैतिर सर्ट खेले । खेल्ने शैली निकै परिवर्तन भएको छ । मानसिक रूपमा जस्तोसुकै खेल खेल्न पनि तयार छन् ।