गाँजाको नेपाल ट्रान्जिट

थाइल्यान्ड, मलेसिया हुँदै काठमाडौंबाट दिल्ली तस्करी

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

यसै साताका दुई घटनाले थाइल्यान्डको गाँजा मलेसिया हुँदै नेपाल ट्रान्जिट बनाएर भारतको दिल्ली पुर्याउने गिरोह सक्रिय रहेको खुलासा गरेको छ । थाइल्यान्डबाट गाँजा ल्याउने क्रम विगतदेखि नै भए पनि केही सातायता नयाँ शैली अपनाइएको छ, जसमा लगेज एकजनाले ल्याउने र अर्काले लैजानेछ ।

पछिल्ला दुईमध्ये पहिलो घटनाअनुसार मंगलबार बेलुका पौने १० बजे मलेसियन एयरलाइन्सको जहाज काठमाडौं अवतरण भयो । सो विमानमा आएका दुई भारतीय यात्रुले चारवटा लगेज छाडेर बाहिरिए । ती लगेज लिन एयर इन्डियाबाट बेलुका ८ बजे नै दिल्लीबाट चार भारतीय काठमाडौं आएका थिए । करिब दुई घण्टा प्रतीक्षा गरेर उनीहरू मलेसियाबाट आएको लगेज आफ्नो भन्दै बाहिरिन खोज्दा प्रहरीले नियन्त्रणमा लियो । जाँच गर्दा १३ केजी ३३० ग्राम गाँजा बरामद भयो । 

यस्तै दृश्य शुक्रबार पनि दोहोरियो । मलेसियाबाट आएका यात्रुले छाडेको झोला लिन आएका तीन भारतीय पक्राउ परे । उनीहरूको साथबाट ११ केजी २७० ग्राम गाँजा बरामद भयो । ती व्यक्ति केही घण्टाअघि मात्र दिल्लीबाट काठमाडौं आएका थिए । पछिल्लो डेढ वर्षमा यस्तै कारोबारमा संलग्न १०२ भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र पक्राउ परेका छन् ।

प्रहरीका अनुसार थाइल्यान्डबाट गाँजा ल्याउने क्रम विगतदेखि नै थियो । तर, केही सातायता नयाँ तरिका अपनाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार मलेसियाबाट एकजनाले लगेज ल्याउने र नेपालबाट अर्काेले लिएर भारत पुर्याउने शैली देखिएको छ । एक सातामै प्रहरीले यस्तो धन्दामा संलग्न सातजना भारतीयलाई पक्राउ गरिसकेको छ । 

पछिल्लो समय थाइल्यान्डबाट मलेसिया हुँदै ल्याउने प्रवृत्ति देखिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कोइरालाले बताए । ‘थाइल्यान्डबाट गाँजा लिएर आउने भारतीयहरू विगतका वर्षदेखि नै पक्राउ पर्दै आएका छन्,’ उनी भन्छन्, ‘मलेसियाबाट एउटाले लगेजमा हालेर ल्याउने र यहाँको विमानस्थलबाट अर्काेले लिएर जाने नयाँ शैली देखिन थालेको छ ।’ 

नयाँ शैलीअनुसार गिरोहले लगेजमा विशेष चिह्न राखेर त्यसको फोटो दिल्लीबाट आउने व्यक्तिलाई पठाउने गर्छ । सोही आधारमा पहिचान गरी लगेज उठाइने गरेको अनुसन्धानमा खुलेको छ । भन्सार कार्यालयले एक्स–रे स्क्रिनिङ गर्ने भए पनि कतिपय अवस्थामा पत्ता लाग्न सकेको छैन । त्यसैले गिरोहले नेपाललाई ट्रान्जिट विन्दु बनाएको प्रहरीको आशंका छ । बरामद गाँजा सडकमार्ग हुँदै भारतका विभिन्न सहरमा पु¥याइने गरेको अनुसन्धानले देखाएको एसएसपी कोइराला सुनाउँछन् । 

थाइल्यान्डमा गाँजाको कारोबार वैधानिक छ । त्यहाँ करिब एक किलो गाँजाको मूल्य तीन लाख भारतीय रुपैयाँ पर्ने र भारतमा पुर्याउँदा १० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको प्रहरी स्रोत बताउँछ । उच्च नाफाका कारण अन्तर्राष्ट्रिय गिरोहले कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई ‘भरिया’का रूपमा प्रयोग गर्ने गरेका छन् । नेपालमा सजाय तुलनात्मक रूपमा कम हुने आकलनका आधारमा पनि ट्रान्जिटका रूपमा प्रयोग गरिएको हुन सक्ने प्रहरीको भनाइ छ ।

शौचालयमा लुकेर प्रतीक्षा गत मंगलबार पक्राउ परेका सायद 
सदिक अली, महेश अशोक मोर्जे, मिर्जा नाजिर बैग र मो अजिम लामो समय विमानस्थलको शौचालयमा बसेका थिए । बेलुका ८ बजे दिल्लीबाट काठमाडौं आएका उनीहरू करिब दुई घण्टा त्यहीँ अलमलिएका थिए । पछि मलेसियन एयरलाइन्सबाट आएको लगेज लिएर निस्कन खोज्दा शंका लागेर निगरानी गर्दा गाँजा फेला परेको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । उनीहरूले हवाई टिकट र १५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने सर्तमा झोला लिन आएको बयान दिएका छन् । मलेसियाबाट सो लगेज लिएर आउने अन्य दुईजनालाई बुधबार गौशालाको होटेलबाट ब्युरोले पक्राउ गरेको छ । 

शुक्रबार एकैपटक चारजना पक्राउ परे । पक्राउ परेका मोहम्मद जुनैद, हुसेन शेख, समिना मिर्जा थाइल्यान्डबाट आएको गाँजा लिएर निस्कँदै गर्दा पक्राउ परेका हुन् । त्यस्तै, सेहजाद अहमद भने आफैँले थाइल्यान्डबाट मलेसिया हुँदै तीन किलो तीन सय ग्राम गाँजा लिएर आएका थिए । थाइल्यान्डबाट आउने भारतीयलाई निगरानी राखेर पक्राउ गर्न थालेपछि उनीहरूले मलेसियाको ट्रान्जिट प्रयोग गरेर झुक्याउन खोजेको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

डेढ वर्षमा १०१ भारतीय पक्राउ 
नेपालको विमानस्थलमा थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीयहरू बारम्बार पक्राउ पर्दै आएका छन् । आर्थिक वर्ष ०८१/८२ मा ४५ जना भारतीय थाइल्यान्डबाट आएको गाँजासहित पक्राउ परेका थिए । उनीहरूको साथबाट २०२ केजी गाँजा बरामद भएको थियो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ५७ जना भारतीय पक्राउ परेको र १३० केजी गाँजा बरामद भइसकेको ब्युरोका एसएसपी कोइरालाले बताए । 

सुझावित समाचार