लागुऔषध सेवन गरी सवारीसाधन चलाउने सातजना पक्राउ परेका छन्। काठमाडौँको नागढुंगामा शुक्रबार गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा हाइस चालक तीनजना, बसचालक दुईजना, ट्रकचालक एकजना र पिकअप भ्यानचालक एकजना रहेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा सातजना चालक फेला परेको प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। नियन्त्रणमा लिइएका चालकहरूलाई प्रहरी वृत्त थानकोटमा थप कारबाहीका लागि बुझाइएको एसएसपी अधिकारीले बताए।
यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा नियमविपरीत तथा दण्डनीय कार्य भएकोले सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने हुनाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।