सिराहाको सुखीपुर नगरपालिका– ९, बैसखा गाउँ घर भई सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत रहेकै वेला हत्या गरिएका करिब ३७ वर्षीय सबइन्जिनियर प्रमोदकुमार यादवलाई सहिद घोषणा र मृतकका परिवारलाई क्षतिपूर्ति माग्दै आफन्त र स्थानीय आन्दोलित भएका छन् ।
आन्दोलनका क्रममा पीडित आफन्त र स्थानीयले बिहीबार दिउँसो करिब २ बजेसम्म दुई घण्टा पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनगढी बजारखण्ड अवरुद्ध गरे । उनीहरूले सडकमा टायर बालेर यादवलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, नाबालिका छोरीको निःशुल्क शिक्षा, पीडित परिवारबाट एकजनालाई रोजगारीसहित हत्यारालाई कारबाही र गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।
सडक अवरोधले पूर्व–पश्चिम जानुपर्ने सयौँ सवारीसाधन रोकिएपछि पीडित परिवारले उठाएका मागहरू माथिल्लो निकायमा पठाउने प्रतिबद्धता जनाएपछि सडक अवरोध खोलिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए । ‘घटना भएको जिल्लामा पनि प्रहरीले अनुसन्धान गरिरहेकाले अपराधी छिट्टै पक्राउ पर्ने कुरामा शंका उपशंका नगर्न आग्रह गर्यौँ,’ उनले भने, ‘त्यसपछि अवरुद्ध सडक खुलाइएको हो ।’
गत १४ माघमा बैसखा गाउँमा बस्दै आएका बाबु लक्ष्मी यादवको निधन भएपछि गाउँ आएका प्रमोद २५ माघमा काजकिरिया सकेर ३ फागुन दिउँसो बुहारी पुनम र दुई वर्षीया छोरी अनायासहित कर्मथलो मलंगवा फर्किएको दाजु मनोजकुमार यादवले बताए ।
‘भाइले शुद्धिभोजपछि घरमा पूजा गरेर फर्किन्छु भन्दै थियो,’ उनले भने, ‘तर, कार्यालयमा हाजिर हुन तारन्तार फोन आउनुका साथै आफन्तकोमा सूतक परेपछि कर्मथलो फर्किएको भाइको त्यही दिन निर्ममतापूर्वक हत्या भयो ।’ दुई दिदी र बहिनीपछिको कान्छो भाइ प्रमोदलाई छोरासरह हुर्काएको सुनाउँदै उनले भने, ‘मोबाइलमा नम्बरसमेत सेभ रहेको व्यक्तिले फोन गरेको भन्ने सुनेको छु, भाइले नजिकबाट चिनेकै व्यक्तिले नै हत्या गरेको हुन सक्छ ।’ करिब चार वर्षको उमेरमा आमा गुलावदेवी गुमाएका प्रमोद दाजु–भाउजूकै लालनपालन र रेखदेखमा हुर्किएका थिए ।