कपिलवस्तुमा जन्मकैद सजाय पाएका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

कपिलवस्तुमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष (जन्मकैद) कैद सजाय तोकिएका फरार प्रतिवादी १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खोजतलास तीव्र बनाउँदै बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगरनिवासी इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई फागुन ५ गते मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

मनउल्ला मुसलमानको जाहेरीका आधारमा दायर कर्तव्य ज्यान मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०६९ चैत १६ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। फैसलापश्चात् उनी फरार रहँदै आएका थिए।

कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेका प्रतिवादीलाई कैद भुक्तानका लागि अदालतमा पेस गरी आवश्यक प्रक्रिया पूरा गरेर कारागार चलान गरिएको  बताएको छ। साथै, जिल्लामा रहेका अन्य फरार प्रतिवादीहरूको खोजी कार्यसमेत निरन्तर जारी रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताएका छन ।

सुझावित समाचार