बिहीबार १० बजेसम्मका १० मुख्य समाचार

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

उम्मेदवारले छत खोलेर हिँड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

सरकारले निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेहिकल’ प्रयोग गर्न नपाउने निर्णय गरेको छ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे पनि छलफल भएको थियो।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका आइजिपी, सशस्त्र प्रहरी बलका आइजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सेनाका प्रतिनिधि सहभागी थिए।

प्रधानमन्त्री भन्छिन्- युवालाई तिरस्कार गरिरहे फेरि विद्रोह हुन्छ

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले युवाको असन्तोष दमन गरेर नभई सम्बोधन गरेर मात्रै राष्ट्र अघि बढ्न सक्ने बताएकी छिन्। ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले भ्रष्टाचार, नातावाद र विभेद अन्त्य नगरेसम्म लोकतन्त्र सुदृढ नहुने स्पष्ट पारिन्।

भदौ २३–२४ को जेन-जी युवा आन्दोलनलाई उनले ‘असफल संरचनामाथिको प्रश्न’ भन्दै त्यसले उठाएका मागहरू जायज रहेको बताइन्। लोकतन्त्रलाई व्यवहारमा उतार्न, सुशासन र पारदर्शिता कायम गर्न तथा छिटो निर्वाचनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

यस्तो छ कांग्रेसको प्रतिज्ञापत्र

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबिच कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।

कुनै पनि भ्रातृ संगठन नबनाउने रास्वपाको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने प्रतिबद्धता जनाएको छ। बिहीबार सुर्खेतबाट सार्वजनिक गरिएको चुनावी वाचा-पत्रमा रास्वपाले यस्तो प्रतिबद्धता जनाएको हो।

जनताले तिरेको करबाट तलब-भत्ता लिएर राजनीतिक दलप्रति निष्ठा राखेर काम गर्नु अनैतिक र दण्डनीय कृत्य भएको रास्वपाले प्रस्ट पारेको छ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउनेबित्तिकै राज्यका विभिन्न निकायहरू–कर्मचारीतन्त्र, शिक्षण सेवा, प्राध्यापन, सुरक्षा निकाय, अदालत तथा संवैधानिक अंगहरूलगायत राज्यको सेवा सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्छौँ,’ वाचा-पत्रमा भनिएको छ।

रास्वपाको ‘वाचापत्र’ सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ। रास्वपाले कर्णालीबाट ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू’ सार्वजनिक गरेको हो।

रास्वपाले विसं २०४६ सालदेखि महत्त्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने, अवैध रूपमा आर्जित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्नेलगायतका वाचा गरेको छ।

यस्ताे छ एमालेकाे घोषणा-पत्र

नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को घोषणा-पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी ओलीले बिहीबार काठमाडौंमा चुनावी घोषणा-पत्र सार्वजनिक गरेका हुन्।

एमालेले सातदेखि नौ प्रतिशतसम्मको आर्थिक बृद्धिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा सय खर्ब रुपैयाँ र १० वर्षमा दुई सय खर्ब रुपैयाँको पुऱ्याउने घोषणा गरेको छ। यसैगरी, प्रतिव्यक्ति आय पाँच वर्षमा करिब ३ हजार अमेरिकी डलर पुऱ्याउने लक्ष्य लिएको छ।

बाघको त्रासपछि बालबालिकालाई सेनाको सुरक्षा

बाँके राष्ट्रिय निकुञ्जबाट बस्तीमा बाघको आतंक बढेपछि सल्यान कालीमाटी गाउँपालिकाका बालबालिकालाई विद्यालय आवतजावतमा नेपाली सेनाले सुरक्षा दिन थालेको छ । बाघ बस्तीनजिकै देखिन थालेपछि विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै सेनाले बिहान साँझ सुरक्षा दिँदै गन्तव्यसम्म पुर्याउन थालेको हो। 

नेपाली सेनाको टोलीले कालीमाटी गाउँपालिका–७ का स्वामीवास, हाउखोला, बाटुलेबाट नेपाल राष्ट्रिय मावि घुइँयाबारीमा अध्ययन गर्न जाने विद्यार्थीलाई बिहान विद्यालय जाँदा र बेलुकी फर्किंदा सुरक्षा दिँदै आएको जनाएको छ । 

तोलामा ४३ सयले बढ्यो सुन

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४३ सय रुपैयाँले बढेको हो।

आजका लागि प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ।

पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाइएको छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली युवाहरूका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने गरी योजना बनाएको बताएका छन् । 

कांग्रेसले चलाएको मिसन रोजगारीलाई निरन्तरता दिन र संविधानमा लेखिएको मौलिक हक अन्तर्गतको रोजगारी सिर्जना गर्ने गरी संकल्पपत्र तयार गरेको बताए । 

२५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप जारी जाउलाखेल फाइनलमा

विपक्षी टोलीका खेलाडीले गरेको आत्मघाती गोलको मद्दतले जारी आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले फाइनलमा स्थान बनाएको छ।

सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबलाई ०–१ गोल अन्तरले पराजित गर्दै जाउलाखेलले फाइनलमा स्थान बनाएको हो। फाइनल पुगेको जाउलाखेलले उपाधिका लागि ९ गते शनिबार हुने फाइनल खेलमा आयोजक सहारा क्लबसँगको भेट पक्का गरेको हो।

सुझावित समाचार