दोस्रो संस्करणको विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता फागुन ९ गतेदेखि निजगढमा सुरु हुने भएको छ। निजगढ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनमार्फत फागुन १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
क्लबका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार प्रतियोगिता १६ वर्षमुनिका खेलाडीहरूलाई लक्षित गरी आयोजना गरिएको हो। प्रतियोगितामा निजगढ नगरपालिकाका १३ वटै वडाबाट एक–एक टिम सहभागी हुनेछन्। कुल १३ टिमबीच १२ खेल सञ्चालन गरिनेछ। प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले तथा आयोजना निजगढ नगरपालिका नगर खेलकुद विकास समितिले गर्नेछ।
प्रतियोगिताको विजेता टिमलाई ८० हजार रुपैयाँ तथा उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, टप गोल स्कोरर, उत्कृष्ट खेलाडी र राइजिङ प्लेयरलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेका अनुसार नगरभरि ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको कुल अनुमानित लागत ५ लाख रुपैयाँ रहेको छ। खेलहरू निजगढ नगरपालिका–९ स्थित सहिद हिरालाल रंगशालामा सञ्चालन हुनेछन्।
एन्फा एकेडेमीका प्रशिक्षार्थी निजगढ नगरपालिकाका विकल रेग्मीको स्मृतिमा प्रतियोगिता सुरु गरिएको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी खोलामा आएको पहिरोमा परी ज्यान गुमाएका निजगढ–८ का रेग्मीको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ।