मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले हरेक वर्षझैँ यस वर्ष पनि बकैया कला साहित्य महोत्सव आयोजना गर्दै विभिन्न विधाका ११ जनालाई नगदसहित सम्मान गरेको छ।
झरनाले आफ्नो ३२३औँ साहित्य श्रृंखला एवं ३३औँ वार्षिक उत्सवका अवसरमा मकवापनुरसहित देशका विभिन्न जिल्लामा रही नेपाली साहित्य, कला, पत्रकारिताजस्ता क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तिहरूलाई सम्मान गरेको हो।
फागुन ५ र ६ गते दुई दिन चलेको साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै सम्मान समर्पण गरिएको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन्। उनका अनुसार महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई सात प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचनावाचन तथा नवसर्जक रचना वाचनलगायतका कार्यक्रम समावेश थियो।
संस्थाले यस वर्ष पनि एकजना पत्रकारसहित साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याएका ११ व्यक्तित्वलाई सम्मान गरेको हो। अध्यक्ष रुपाखेतीका अनुसार पत्रकारिताका माध्यमबाट संस्थाको उन्नयनमा सहयोग गरेबापत ११ हजार १११ राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट काठमाडौंलाई कार्यक्षेत्र बानाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका मकवानपुरका दीपक अधिकारीलाई प्रदान गरिएको छ।
यस्तै, १५ हजार ५५५ रुपैयाँ राशिको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२’ निमेष निखिललाई प्रदान गरिएको छ भने युवा साहित्यकारलाई दिइँदै आएको ५ हजार ५०० रुपैयाँ राशिको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२’ नेपालगन्जकी सत्या ढुंगेललाई प्रदान गरिएको छ।
मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने ७ हजार ७७७ रुपैयाँ राशिको ‘सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान २०८२’ एसआर मञ्जरी ओलीलाई प्रदान गरिएको संस्थाका सचिव निलहरि दुलालले जानकारी दिए। ७ हजार ७७७ रुपैयाँ राशिको ‘संजीवनी बुटी साहित्य सम्मान–२०८२’ अर्पण पराजुलीलाई प्रदान गरिएको छ।
नवप्रतिभालाई प्रोत्साहन गर्न प्रदान गरिने ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान २०८२’ तथा ‘शिरसिद्धेश्वर–रम्फणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान २०८२’ बाट स्थानीय कलाकार तथा स्रष्टाहरू सम्मानित भएका छन्।
यसै वर्ष स्थापना गरिएको ११ हजार १११ राशिको कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान–२०८२ साहित्यकार तथा लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ।
महोत्सवअन्तर्गत आयोजित चित्रकला प्रतियोगितामा महेन्द्र माविका विद्यार्थी मिहाजुल थोक्कर, रिषा दोङ र प्रसिद राई उत्कृष्ट तीनमा पर्न सफल हुँदा कविता प्रतियोगितामा शान्ति नेगी, ऋतु विक र इन्द्रकुमारी स्याङ्बो उत्कृष्ट घोषित भए।
पुरस्कृत एवं सम्मानित भएकाहरुलाई प्रमुख अतिथि बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तकुमारी खत्री, संस्थाकी अध्यक्ष गायत्री रुपाखेती र पुरस्कार संस्थापकलगायतले नगदसहित दोसल्ला, खादा र माला लगाइदिएर सम्मान गरेका थिए।