सर्लाहीको सदरमुकाम मलंगवामा नक्कली ठानेर खेलाएको पेस्तोलबाट गोली लागेर एक किशोर घाइते भएका छन्। बिहीबार दिउँसो मलंगवा नगरपालिका–४, ढाकागाउँ बस्ने रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते भएका हुन्।
रामले घरदेखि सय मिटरको दूरीमा रहेको हनुमान मन्दिरको कुनामा रातो कपडाले बेरेर राखेको अवस्थामा पेस्तोल फेला पारेकाे प्रहरीको भनाइ छ। सोही पेस्तोल नक्कली भनेर चलाएको अवस्थामा लोड भएको एक राउन्ड गोली चलेको र किशोरको हातको पन्जामा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र पेस्तोलमा अड्किएको अवस्थामा एक थान खोका बरामद गरेको छ। किशोरलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा लगेर उपचार भइरहेको प्रहरीले जनाएको हो।
केही दिनअघि मलंगवा–१० मा कोठाभाडामा बस्ने सिराहाको सुखीपुर नगरपालिका–६ घर भएका भौतिक पूर्वाधार कार्यालय सर्लाहीमा काम गर्ने इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको थियो। इन्जिनियरको हत्या घटना सेलाउन नपाउँदै फेला परेको पेस्तोलसँग उक्त घटनाको सम्बन्धमा समेत अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राईले बताए।