स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनका लागि नीतिगत सुधारमा छलफल

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

 नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठक मंगलबार काठमाडौंमा भएको छ । बैठकले नेपालमा स्टार्टअप तथा इनोभेसन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिएको छ । 

बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताउँदै निजी क्षेत्र–सरकार सहकार्य बढाउनुपर्नेमा जोड दिए । उनले स्टार्टअपहरूलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिए । 

साथै, उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेसन सेवालाई अझ प्रभावकारी बनाइँदै लैजानुपर्नेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले स्टार्टअप तथा इनोभेसन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानीसम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे । 

अर्की उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टअप नीतिको केन्द्रमा राख्नुपर्ने बताइन् । समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने उनको भनाइ थियो । कोषाध्यक्ष भरतराज आचार्यले स्टार्टअप तथा इनोभेसन फोरमलाई कमिटीमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै यसको विकासका लागि संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताए । 

सुझावित समाचार