भरतपुर विमानस्थलबाट हवाई इन्धन ‘रिफ्युलिङ’ सेवा सुरु

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

भरतपुर विमानस्थलमा बुधबारबाट हवाई इन्धन ‘रिफ्युलिङ’ सेवा सुरु भएको छ । त्रिभुवन विमानस्थलबाट दिउँसो १२ बजे भएको उडानमार्फत भरतपुर पुगेको बुद्ध एयरमा आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले इन्धन भरेर सेवा सुरु गरेका हुन् । उक्त सेवा सुरु भएपछि भरतपुर–काठमाडौं रुटको विमानले दुईतर्फी उडानलाई पुग्ने इन्धन बोक्नुपर्ने बाध्यता हटेको छ ।

काठमाडौं–भरतपुर रुटमा नियमित रूपले खचाखच यात्रु हुने भए पनि दुईतर्फी उडान भर्न तेल बोकेर जानुपर्ने हुँदा बुद्ध एयरले प्रत्येक उडानमा ४–५ सिट खाली राखेर तौल व्यवस्थापन गर्दै आएको थियो, तर अब भरतपुरमै इन्धन भर्ने सुविधा भएपछि सबै सिटमा यात्रु राखेर उडान भर्न मिल्ने भएको छ ।सेवा सुरु गर्दै निगमका कार्यकारी निर्देशक भट्टले निर्वाचनका वेला हवाई यात्रुको संख्या बढेकाले लाभ हुने बताए । ‘भरतपुर विमानस्थलबाटै इनधन त रिफ्युलिङ थालिए पनि अब खाली सिट राखेर उडान भर्नुपर्ने बाध्यता हटेको छ । यसमा निर्वाचनको बढ्दो चहलपहलका कारण हवाईमार्गबाट यात्रा गर्ने यात्रुलाई सहज हुने अपेक्षा लिएका छौँ,’ उनले भने । निर्वाचन आचारसंहिता लागेकै वेला भए पनि सेवा शुभारम्भ गरेर निगमले सामाजिक उत्तरदायित्व पूरा गरेको उनको भनाइ थियो ।

भरतपुर विमानस्थलमा दैनिक ३५ सय लिटरसम्म इन्धन खपत हुने अनुमान छ । ११ हजार लिटर क्षमताका दुईवटा रिफ्युलर र ६ हजार लिटर क्षमताको एउटा डिस्पेन्चरमार्फत सेवा थालिएको निगमको हवाई इन्धन कार्यालय, सिनामंगल प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘हवाई यात्रुहरूको सहजताका लागि आचारसंहिता लागेकै वेला भिडभाड नगरी सेवा विस्तार गरिएको छ,’ यादवले भने । भरतपुर विमानस्थलबाट इन्धन सेवा थाल्न निगमलाई नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले ताकेता गर्दै आएका थिए ।

भरतपुरमा इन्धन भण्डारणगृह नै बनाउने योजना 
सेवा सुरु गर्दै निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निकटभविष्यमा भरतपुर विमानस्थलमा इन्धन भण्डारणगृह नै बनाउने योजना रहेको बताए । ‘यहाँबाट आपूर्ति चुस्त बनाउन भण्डारणगृह नै बनाएर सेवा दिने योजनामा छौँ,’ उनले भने । अहिले भने ट्यांकरमा आएको तेल डिस्पेन्चरमा हाल्ने र त्यहाँबाट सोझै रिफ्युलमा राखेर विमानहरूमा भर्ने गरिएको छ । निगमले हवाई इन्धन कार्यालयमा जमुनमुनि र ‘बन्डेड ट्यांक’मार्फत इन्धन भण्डारण गर्दै आएको छ । 

भरतपुरमा नागरिक उड्डयन प्राधिकरणको भवनमै रहेको संरचना भाडामा लिएर कार्यालय राखिएको छ । निर्वाचन आचारसंहिताका कारण दरबन्दीअनुसार कर्मचारी नखटाइएको पनि निगमले जनाएइको छ । सिनामंगलस्थित हवाई इन्धन कार्यालयका सीमित कर्मचारीलाई काजमा खटाएर सेवा सुरु गरेको र निर्वाचनपछि दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन हुने निगमले जनाएको छ ।

डा. चण्डिकाप्रसाद भट्ट,
कार्यकारी निर्देशक, आयल निगम

भरतपुर विमानस्थलबाटै इन्धन रिफ्युलिङ थालिए पनि अब खाली सिट राखेर उडान भनुपर्ने बाध्यता हटेको छ । यसमा निर्वाचनको बढ्दो चहलपहलका कारण हवाईमार्गबाट यात्रा गर्ने यात्रुलाई सहजता हुने अपेक्षा लिएका छौँ । आचारसंहिता लागेकै वेला भए पनि सेवा शुभारम्भ गरेर निगमले सामाजिक उत्तरदायित्व पूरा गरेको छ । निकटभविष्यमा यहाँ इन्धन भण्डारणगृहसमेत निर्माण गर्ने योजना छ ।

सुझावित समाचार