ललितपुर १ मा चारपक्षीय प्रतिस्पर्धा

कांग्रेस विरासत जोगाउने, एमाले र नेकपा विरासत फर्काउने तथा रास्वपा इतिहास रच्ने दाउमा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकाकै क्षेत्र भएर पनि ललितपुर १ विकट मानिन्छ । भौगोलिक, सामाजिक र आर्थिक हिसाबले यो क्षेत्रमा विविधता छ । पूर्ण सहरी, अर्धसहरी र दुर्गम पहाडी बस्ती यो क्षेत्रमा पर्छ । सहरी क्षेत्रमा सडक सञ्जाल, बजार र सेवा–सुविधाको सहज पहुँच छ भने पहाडी भेगमा छरिएका बस्ती, कच्ची सडक, आधारभूत पूर्वाधारको अभाव छ । वर्षायाममा यातायात अवरुद्ध हुने हुँदा शिक्षा, स्वास्थ्य र बजार पुग्न समस्या हुने भएकाले यो क्षेत्रका बासिन्दा सडक स्तरोन्नतिको पर्खाइमा छन् ।

युवा शक्ति ठुलो मात्रामा वैदेशिक रोजगारीमा गएको छ भने खेतबारी बाँझो रहने समस्या छ । सहरी क्षेत्रमा व्यापार, व्यवसाय र सेवामा आधारित अर्थतन्त्र छ भने ग्रामीण क्षेत्र कृषिमा निर्भर छ । सिँचाइ, बजार पहुँच र भण्डारणको अभाव छ । कतै पानीको स्रोत संरक्षणको समस्या छ भने कतै वितरण प्रणालीको समस्या छ । व्यावसायिक कृषि, जैविक उत्पादन, तरकारी खेती, पशुपालन र ग्रामीण पर्यटनको राम्रो सम्भावना छ । 

ललितपुर १ हरिसिद्धिदेखि मकवानपुर र काभ्रेसम्म जोडिएको छ । महांकाल, बागमती, कोञ्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकाका १२ र १४ वडाबाहेक सबै यो क्षेत्रमा पर्छन् । यो क्षेत्रमा ७७ हजार ७३७ मतदाता छन् भने ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् । विकास निर्माणदेखि जनजीविकासम्मका एजेन्डा लिएर यो निर्वाचनमा २८ उम्मेदवार मैदानमा छन् । ०७९ मा निर्वाचित उदयशमशेर राणालाई कांग्रेसले उठाएको छ । उनी कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उदयशमशेर उम्मेदवार बने । उनलाई नेकपा (तत्कालीन माओवादी)का नेता वर्षमान पुनले पराजित गरेका थिए । 

०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उदयशमशेर निर्वाचित भए । ०७४ मा एमालेका नवराज सिलवालसँग उनी पराजित भए । ०७९ मा फेरि सिलवाललाई पराजित गर्दै उदयशमशेर नै निर्वाचित भए । उनी तेस्रो जितको खोजीमा छन् । तर, उनलाई एमाले, नेकपा र रास्वपाले चुनौती दिएका छन् ।एमालेले पूर्व प्रदेश सभा सदस्य चेतनाथ सञ्जेललाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले सुनील महर्जनलाई उम्मेदवार बनाएको छ । पार्टी संगठनको बल र समुदायगत प्रभावमा उनी ०६४ कै बिरासत ब्युँताउने रणनीतिसहित चुनावी मैदानमा खटिएका छन् । रास्वपाले बुद्धरत्न महर्जनलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा उनी ललितपुर २ बाट उम्मेदवार बनेका थिए । 

उदयशमशेर राणा, कांग्रेस
अहिले नयाँ र पुरानको कुरा चर्चामा छ । नयाँ भनेको विचार र कार्यशैलीमा आउने परिवर्तन हो । त्यो नयाँपन आजको कांग्रेसमा छ । कांग्रेसभित्रै बसेर हामीले यथास्थितिवादलाई चुनौती दियौँ । हामीजस्ता युवा पुस्ताले पार्टीका पुराना नेतालाई प्रश्न गर्ने आँट गर्यौँ, किनकि आफैँभित्र सुधार नगरेसम्म देश बदल्न सकिँदैन भन्ने थाहा छ । हामी कांग्रेसलाई बदलेर देश बदल्ले महाभियानमा लागेका छौँ ।

 चेतनाथ सञ्जेल, एमाले
विकास निर्माण, स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, सिँचाइ, पर्यटन प्रवद्र्धनका साथै भाषा, साहित्य, कला, संस्कृतिको जगेर्ना गर्ने गरी नीति निर्माण गर्न भूमिका खेल्नेछु । गोदावरी सनराइज हल पुनर्निर्माण गर्ने, भट्टेडाँडा, तीनपाने भञ्ज्याङको राडार क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक अध्ययनलाई थप अध्ययन गर्ने र सम्भाव्यताका लागि सरकारको कार्यक्रममा राख्न पहल गर्नेलगायत मेरा मुख्य एजेन्डा हुन् । 

सुनील महर्जन, नेकपा
गाउँदेखि सहरसम्म विश्वस्तरीय शिक्षा प्रदान गर्ने, प्रत्येक दुर्गम विद्यालयलाई डिजिटल कक्षाकोठामा रूपान्तरण गर्ने, हरेक वर्ष कम्तीमा एक हजारभन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने, गाउँगाउँमा अस्पताल, घरघरमा स्वास्थ्य सुरक्षाको व्यवस्था, सम्पूर्ण भाषा–संस्कृतिको जगेर्ना गरिनेछ । कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धन गर्नेछु । 

बुद्धरत्न महर्जन, रास्वपा
जेन–जी आन्दोलनको मर्म र भावनाअनुसार राजनीतिक विकृति र विसंगतिविरुद्ध मेरो उम्मेदवारी हो । मुलुकमा बेथिति, भ्रष्टाचार र अत्याचार अन्त्य गरी पारदर्शिता, सुशासन र समृद्धि हासिल गर्ने मुख्य एजेन्डा छ । म कुनै लाभ वा अपेक्षा गरेर राजनीतिमा आएको होइन । मेरा लागि व्यक्तिगत रूपमा केही कुराको अभाव छैन । तर, मुलुकको परिस्थितिले आफूलाई आत्मसन्तुष्टिका लागि चुनावी मैदानमा छु । 

को–को छन् उम्मेदवार ?
ललितपुर १ मा १६ दल र १२ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये तीनजना महिला छन् । एमालेबाट चेतनाथ सञ्जेल, कांग्रेसबाट उदयशमशेर राणा, नेकपाबाट सुनील महर्जन, रास्वपाबाट बुद्धरत्न महर्जन, राप्रपाबाट सजिना कार्की, उज्यालो नेपालबाट पदमकुमार लामा, जसपा नेपालबाट महावीर स्याङ्तान तामाङ, आजपाबाट किरण महर्जन, नेकपा संयुक्तबाट अमृतनाथ बजगाईं, श्रम संस्कृतिबाट गौतम थापा, माओवादीबाट भीमसेन घिमिरे, नेमकिपाबाट सरिता गोसाईं देसार, मंगोल नेसनल अर्गनाइजेसनबाट सुरेश मार्पा, नेसनल रिपब्लिकबाट सञ्जय घिसिङ तामाङ, प्रलोपाबाट रोहित बास्तोला र पिपुल फस्र्ट पार्टीबाट सनोज महत उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारमा धर्मराज बोहरा, विशाल तामाङ, राधाकृष्ण बस्नेत, सरोजकुमार विष्ट, शर्मिला बुढाथोकी, देवेन्द्र सिंह, अशोक थापा, भरत दुलाल, राम खड्का, तिलकबहादुर भोलन, डालनाथ तिमल्सिना र गणेशबहादुर बल तामाङ छन् ।

मतदाता
मतदाता : ७७,७३७ 
मतदानस्थल : ५३ 
मतदान केन्द्र : १००
उम्मेदवार : २८ (१६ दल र १२ स्वतन्त्र)
महिला उम्मेदवार : ३

सुझावित समाचार