सर्लाहीको ईश्वरपुरमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्। बुधबार राती ८:४५ बजेको समयमा ईश्वरपुर नगरपालिका–१३, बाँके–संग्रामपुर सडक खण्डअन्तर्गत खिलामा तीन भारतीय नम्बर प्लेट भएको मोटरसाइकल आपसमा ठोक्किएको हो । मोटरसाइकल दुर्घटना भएको खवर पाएपछि पुगेको प्रहरी टोलीले घाइते चारै जनाको उद्धार गरेको थियो । उद्धार गरी अस्पताल पुर्याएपछि दुई जनाको मृत्यु भएको र दुई जना डिस्चार्ज भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चैया बस्ने अन्दाजी ३०/३५ वर्षका मुकेश राय र सोही स्थानका अन्दाजी ३०/३२ वर्षका राम ज्ञान रायको मृत्यु भएको छ । उनीहरुलाई लालबन्दीस्थित मोडल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल मंलगवा पुर्याइएको थियो ।
प्रादेशिक अस्पताल पुर्याउनेबित्तिकै दुवै जनालाई चिकित्सकले मृत घोषण गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । यस्तै सोही दुर्घटनामा हरिपुर्वा नगरपालिका–९, बस्ने २२ वर्षका बिक्रम राय र ४२ वर्षका राम विश्वास राय समेत घाइते भएका छन् । सामान्य चोटपटक लागेका दुवै जनालाई लालबन्दी स्थित मोडल अस्पतालमा उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनामा संलग्न भारतीय नम्बर बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ को मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटना स्थलबाट नियन्त्रणमा लिएको सवारी कुन कताबाट आएको, कस्ले चलाई ल्याएको र कसरी दुर्घटना भयो भन्ने एकिन हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । प्रहरीका अनुसार मृतक दुवै जनाको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको छ । घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।