कांग्रेस अनुशासन समिति बैठक बस्दै

बागी उम्मेदवारलाई निष्क्रिय हुन निर्देशन दिने, अटेर गरे निष्कासन

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा उठेका बागी उम्मेदवारलाई समयसीमा तोकेर उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिँदै छ । शुक्रबार बस्ने पार्टी अनुशासन समितिको बैठकले देशभरिबाट केन्द्रीय कार्यालयमा आएका उजुरीबारे समीक्षा हुने र बागी उम्मेदवारलाई समय दिएर उम्मेदवारी निष्क्रिय गराउन लागेको छ । समयसीमाभित्र पनि अटेर गरिरहे पार्टीबाट निष्कासनसम्मको कारबाही गने पार्टीको तयारी छ । 

‘अनुशासन समितिको बैठक शुक्रबार बस्दै छ, बैठकमा बागी उम्मेदवारलगायत केन्द्रीय कार्यालयमा आएका समग्र उजुरीबारे छानबिन हुन्छ,’ अनुशासन समितिका सदस्य सुवास पोखरेलले भने, ‘बागी उम्मेदवारको हकमा एउटा समयसीमा तोकेर उम्मेदवारी निष्क्रिय गराउने अवसर दिने कुरा होला । बैठकमा यसबारे हामी समीक्षासहित निर्णय गर्छौँ ।’ कांग्रेस विशेष महाधिवेशनपछिको केन्द्रीय समितिले नेता तारामान गुरुङ संयोजक रहेको अनुशासन समिति गठन गरेको छ । समितिको पहिलो बैठक बस्न लागेको हो । 

कांग्रेसका बागी उम्मेदवार 

  • पर्सा २ मा कांग्रेसका आधिकारिक उम्मेदवारको विकल्पमा राजेश्वरप्रसाद साहले उम्मेदवारी दिएका थिए । त्यहाँ कांग्रेसका आधिकारिक उम्मेदवार अजय चौरसिया हुन् । पर्सा ४ मै कांग्रेसका उम्मेदवारविरुद्ध कांग्रेसकै रामलखन महतोले बागी उम्मेदवारी दिएका छन् । त्यहाँ कांग्रेस नेता रमेश रिजाल आधिकारिक उम्मेदवार हुन् । 
  • कालीकोटमा कांग्रेसका आधिकारिक उम्मेदावार हर्षबहादुर बमलाई टिकट दिएको विरोधमा कांग्रेस नेता भूपेन्द्रजंग शाहीले बागी उम्मेदवारी दिएका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिएका छन् ।
  • कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध कपिलवस्तु १ मा आशिष शर्माले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार अतहर कमाल मुसलमान हुन् । उम्मेदवारी निष्क्रिय नबनाएको भन्दै कांग्रेस जिल्लन अनुशासन समितिले बागी उम्मेदवार शर्मा र उनका बावु दीपप्रकाश उपाध्यायलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ । 
  • सिन्धुली २ बाट कांग्रेसका खड्गबहादुर वाइबाले कांग्रेस पार्टी त्यागेको घोषणा गर्दै उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार सुशीला थिङ हुन् ।
  • सप्तरी ४ मा कांग्रेसका क्षेत्रीय सभापति सीताराम साहले बागी उम्मेदवारी दिए । त्यहाँ पार्टी नेता तेजुलाल चौधरी आधिकारिक उम्मेदवार हुन् । 
     

सुझावित समाचार