आइसिसी पुरुष टी–२० विश्वकप २०२६ : सुपर ८ पुग्ने आठ टोलीको लाग्यो टुंगो

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

१०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर ८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । प्रतियोगिताअन्तर्गत बुधबार नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान सुपर ८ मा पुग्ने अन्तिम टोली बनेको छ । पाकिस्तानको जितसँगै अर्को चरणमा पुग्ने आठ राष्ट्रको छिनोफानो भएको छ । पाकिस्तान समूह ‘ए’को उपविजेता बनेको हो । 

यसै समूहमा भारतले नेदरल्यान्ड्सलाई १७ रनले हराएको छ । पहिलो ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर १९३ रन बनाएको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले सात विकेट गुमाएर १७६ रन बनायो । भारतले चारै खेलमा जित निकालेको हो । भारत र श्रीलंकाद्वारा संयुक्त रूपमा आयोजित विश्वकपमा सहभागी २० मध्ये १२ टोली प्रतियोगिताबाट बाहिरिएका छन् । ७ फेब्रुअरीदेखि सुरु विश्वकपमा इटाली नवप्रवेशी राष्ट्रका रूपमा सहभागी भएको थियो । इटालीले समूह ‘सी’मा नेपालमाथि १० विकेटको जित निकालेको थियो । पूर्वविजेता अस्ट्रेलिया समूह ‘बी’बाट अप्रत्याशित रूपमा बाहिरियो । 

आयरल्यान्ड र जिम्बावेबिचको खेल वर्षा कारण रद्द हुँदा अस्ट्रेलिया एक खेलअगाडि बाहिरिएको हो । आयरल्यान्डले जित निकाल्दा अस्ट्रेलियाको अगाडि बढ्ने सम्भावना थियो । तर, खेल सम्भव नहुँदा जिम्बावे र आयरल्यान्डले समान १ अंक बटुले । अस्ट्रेलिया दोस्रोपटक समूह चरणबाटै बाहिरियो ।समूह ‘ए’बाट साबिक विजेता भारत र पाकिस्तानले सुपर ८ मा स्थान बनाए । यस समूहमा अमेरिकाले दुई जित निकाल्दा पनि अगाडि बढ्न सकेन ।

प्रतियोगितामा सबै खेल गुमाउनेमध्ये नामिबिया पनि रह्यो । नामिबियाले चारै खेल गुमाएको छ । यसैगरी, समूह ‘बी’मा श्रीलंका शीर्ष तथा जिम्बावे दोस्रो स्थानमा रहे । यो समूहमा आयरल्यान्डले चार खेलबाट ३ अंक जोडेको छ । एक खेल खेल्न बाँकी अस्ट्रेलियाको २ अंक छ । एसोसिएट राष्ट्र ओमानले तीन खेल गुमाएको छ । चालू विश्वकपमा ओमान पहिलो राष्ट्रका रूपमा समूह चरणबाट बाहिरिएको थियो । विश्वकपको ‘ड्र’ हुँदा समूह ‘सी’लाई कठिन भनिएको थियो । यो समूहमा दुईपटकका विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज थिए । 

यसैगरी अन्डर डग राष्ट्रका रूपमा नेपालसँगै स्कटल्यान्ड पनि यसै समूहमा थिए । इटालीलाई कमजोर राष्ट्रका रूपमा हेरिएको थियो । वेस्ट इन्डिज र इंग्ल्यान्डले लगातार खेलमा जित निकाली सुपर ८ को स्थान पक्का गरे । स्कटल्यान्ड, इटाली र नेपालले समान एक खेल जितेका छन् । नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई सात विकेटले हराएको थियो । 

दक्षिण अफ्रिकाको शतप्रतिशत नतिजा
समूह ‘डी’बाट दक्षिण अफ्रिकाले शतप्रतिशत नतिजा निकाल्यो । दक्षिण अफ्रिकाले समूहका चार खेल जित्दै सर्वाधिक ८ अंक जोड्यो । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डले चार खेलमा तीन जित र एक हार सामना गरी ६ अंक बटुलेको थियो । न्युजिल्यान्डले मंगलबार क्यानडालाई हराउँदा अफगानिस्तान र युएईका सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको थियो । 

अफगानिस्तानले तीन खेलमा २ अंक जोडेको छ । युएईले चार खेलमा एक जितका साथ २ अंक हात पारेको छ । दोस्रोपटक विश्वकप खेलिरहेको क्यानडाले तीनै खेल गुमाएको छ । यो समूहमा अफगानिस्तानले न्युजिल्यान्ड, आयरल्यान्ड र दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । तर, बलिङमा कमजोर रहँदा मजबुत योगफल पनि रक्षा गर्न सकेन । 

फरहानको शतकमा पाकिस्तान सुपर ८ मा
भारतसँग हार सामना गरेको पूर्वविजेता पाकिस्तानले बुधबार एसोसिएट राष्ट्र नामिबियामाथि १०२ रनको फराकिलो जित निकालेको छ । कोलम्बोमा पहिलो ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नामिबियाले १७.३ ओभरमा ९७ रन जोड्दा पाकिस्तानले फराकिलो जित निकालेको हो । पाकिस्तानलाई जित दिलाउने क्रमामा ओपनर सहिबाजदा फरहानले शतकीय इनिङ्स खेलेका थिए । अन्तिमसम्म नटआउट रहेका फरहानले ५८ बलमा ११ चौका र चार छक्का प्रहार गरी सय रन जोडेका थिए ।

सुझावित समाचार