समुन्नत नेपाल र सम्मानित नेपाली कांग्रेसको प्रतिज्ञा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपालीको लक्ष्यसहितको २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि दश दृष्टिसहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधामबाट मुख्य विषय सार्वजनिक गरिए पनि प्रतिज्ञापत्रको विस्तृत विवरण बिहीबार राष्ट्रिय सभाबाट सार्वजनिक गर्ने तयारी छ । प्रतिज्ञापत्रलाई सुन्दर नेपालको तस्बिर भन्दै कांग्रेसले आगामी पाँच वर्षका कार्यक्रम त्यही लक्ष्य हासिल गर्ने प्रारम्भिक पाइला भएको उल्लेख गरेको छ ।

 सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधि, मधेश प्रदेश सभापति एवं मधेशका मुख्यमन्त्री कृष्ण यादवको उपस्थितिमा १० दृष्टिसहितको प्रतिज्ञापत्र सार्वजनिक भएको हो । सभापति थापा सर्लाही–४ मा उम्मेदवार बनेपछि कांग्रेसले मधेशमा बढी जोड दिएको छ र यही सिलसिलामा जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । 

‘बदलिएको कांग्रेस, बदलिँदो देश, नेपाली कांग्रेसको ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नारासहित पूरा गर्न सक्ने विषय प्रतिज्ञामा समेटेको सभापति थापाले बताएका छन् । सभापति थापाले अब कांग्रेसले केवल घोषणापत्र मात्रै नछाप्ने, बरु प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ‘कसैले लेखेको भाषण पढ्न म यहाँ आएको होइन । सर्लाहीबाट म काठमाडौं गएर मेरो टिमसँग बसेर आफैँले के–के राख्ने भनेर एक–एक अक्षर केलाएर प्रतिज्ञापत्र तयार गरेको हुँ,’ सभापति थापाले भने, ‘सरकारमा हुँदा होस् या प्रतिपक्षमा, कांग्रेसका सबै नेता–कार्यकर्ताले यो प्रतिज्ञापत्र पालना गर्नेछन् ।’ 

सभापति थापाका अनुसार कांग्रेसले २७ क्षेत्र पहिचान गरेर पाँच वर्षमा गर्ने कामको विस्तृत खाका तयार गरेको छ । ‘परिवर्तन समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाली कांग्रेस विचारमा प्रस्ट र कार्यशैलीमा चुस्त बनेको छ,’ कांग्रेसले भनेको छ, ‘आदर्श र कर्ममा आधारित हाम्रो आगामी राजनीतिको एक मात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनुहुनेछ ।’  

साथै, प्रतिज्ञापत्रबारे कांग्रेसले भनेको छ, ‘यो आगामी पाँच वर्षभित्र हासिल हुन सक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्बिर हो । हाम्रो यो प्रतिज्ञापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रमहरू त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइला हुन् ।’

प्रतिज्ञापत्रमा के–के छन् ? 
‘सम्मानित भएर बाँच्न पाउने नेपाल’ शीर्षकको पहिलो बुँदामा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुने उल्लेख गरेको छ । ‘देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुनेछैनन्,’ प्रतिज्ञापत्रमा छ, ‘हामी यस्तो समाजको निर्माण गर्नेछौँ, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैंगिक हिंसाबाट मुक्त हुनेछ ।’कांग्रेसले छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्भीक बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सुसंस्कृत समाज बनाउने दृढता जनाएको छ । 

कांग्रेसले ‘सपना देख्न सक्ने नेपाल’ शीर्षककोे दोस्रो बुँदामा नेपाल प्रगति र उन्नतिको सपना देख्ने नागरिकहरूको देश हुने उल्लेख गरेको छ । ‘दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अघिल्लो पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुनेछन्,’ कांग्रेसले भनेको छ, ‘राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् । उज्ज्वल भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सिर्जनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ ।’ राज्य प्रवास रहेर पौरख र क्षमता खर्चिएका नेपालीहरूको अभिभावक हुने र उनीहरूको सिप मातृभूमिको पुनर्जागरणमा जोडिने पनि उल्लेख गरेको छ । 

‘सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल’ शीर्षकको तेस्रो बुँदामा कांग्रेसले आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सिर्जन गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुने स्पष्ट पारेको छ । ‘राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिका रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ,’ कांग्रेसले भनेको छ ।

यस्तै ‘पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ शीर्षकको चौथो बुँदामा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य साझेदार हुने परिकल्पना गरिएको छ । कृषि पेसा नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुने, नेपाली किसानले प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिततासमेत पाउने कांग्रेसको विश्वास छ । ‘युवाहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, बिमा र भुक्तानीका झन्झट हटाई बजार र मूल्य सुनिश्चित गर्नेछ,’ प्रतिज्ञापत्रमा छ, ‘नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्रान्ड’ बनाउने भिजन बोकेका कृषि–उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।’

पाँचौँ बुँदामा समेटिएको ‘ओखती र ओत दिने नेपाल’ शीर्षकमा कांग्रेसले गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुने परिकल्पना गरेको छ । ‘स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ,’ कांग्रेसले भनेको छ । यसका लागि कांग्रेसले उन्नत स्वास्थ्य बिमा प्रणाली लागू गर्ने भनेको छ । 

‘छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल’ शीर्षकको छैटौँ बुँदामा कांग्रेसले शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुने भनेको छ । ‘हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्वपूर्ण लगानी मान्दछ,’ कांग्रेसले भनेको छ, ‘आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुनेछैनन् ।’ राज्यले बालबालिकाको शिक्षासँगै पोषणको पनि जिम्मा लिने, प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने तथा  विद्यार्थीको सिर्जनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहनमा केन्द्रित हुने पनि कांग्रेसको प्रतिबद्धता छ । 

‘वैयक्तिक र हेरफेरमुक्त विधिको शासन भएको नेपाल’ अन्तर्गत सातौँ बुँदामा कांग्रेसले निमुखालाई ऐन र ठुलालाई चैनजस्तो विभेदकारी अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । ‘सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् । अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालयलगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ,’ कांग्रेसले भनेको छ । राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटल नेपाल’को अवधारणा साकार पारिने दाबी गरिएको छ । जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्ने कांग्रेसको विश्वास छ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउने, नियमित रूपमा सरकारसँग प्रश्न गर्न र जवाफ माग्न सक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुने पनि कांग्रेसले भनेको छ । 

‘मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल’ शीर्षकको आठौँ बुँदामा कांग्रेसले नेपालका विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण गर्ने तथा विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र संवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ । ‘विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ,’ कांग्रेसले भनेको छ ।

‘विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल’ शीर्षकको नवौँ बुँदामा कांग्रेसले परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिने स्पष्ट पारेको छ । ‘हाम्रा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाइनेछ,’ कांग्रेसले भनेको छ, ‘हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौँ ।’

‘समृद्धिमा लम्कने नेपाल’ शीर्षकको १०औँ बुँदामा कांग्रेसले कार्यसम्पादन र पूर्वाधारमा जोड दिएको छ । ‘हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आइटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रूत विकास हुनेछ,’ प्रतिज्ञापत्रमा छ, ‘हिमाल, नदी, वनजंगलजस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् ।’ कांग्रेसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्ने खुला, प्रतिस्पर्धी, प्रविधि र पर्यावरणमैत्री अर्थतन्त्रमा जोड दिएको छ । 

सुझावित समाचार