जिल्लातिर मतपत्र पठाउन सुरु

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र ढुवानी सुरु गरेको छ । निर्वाचनका लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रबाट चार करोडभन्दा बढी मतपत्र छापेको छ । आयोगले प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र र समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरेको हो । छापिएको मतपत्रलाई प्याकिङ तथा रुजुसमेत गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी थालिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । 

‘सुदूरपश्चिम र कर्णालीमा पठाइसकेका छौँ । कतिपय जिल्ला पुगिसक्यो । अब कोशी प्रदेशका जिल्लामा भोलिदेखि पठाउँदै छौँ । भोलिबाट क्रमशः पठाउँदै जाने भन्ने छ । मतपत्रको छपाइ अनि प्याकिङ सकिइसकेको छ । समयले भ्याउँछ,’ उनले भने ।सूचना अधिकारी घिमिरेले निर्वाचन सामग्रीहरू पनि पठाइरहेको बताए । ‘अब छिटपुट बाँकी छ । त्यो पनि केही दिनभित्रै जिल्ला जिल्लामा पुग्छ,’ उनले भने । आयोगले यसअघि निर्वाचनका लागि १० लाख ९८ हजार दुई सय नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाइसकेको छ । ती मतपत्र हाल सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत प्रयोग भइरहेका छन् ।

मतदाता शिक्षामा सक्रिय सहभागिता
यसैगरी, ३ फागुनदेखि सञ्चालित मतदाता शिक्षा कार्यक्रममा मतदाताको सक्रिय सहभागिता रहेको आयोगले जनाएको छ । सूचना अधिकारी घिमिरेले मतदाता शिक्षामा अहिलेसम्मकै धुमधडाका साथ सञ्चालन भइरहेको बताए । ‘खेती गर्दै गरेकालाई सिकाइरहेका छन् । विभिन्न भाषामा सिकाएका छन् । चेपाङ, मधेशी, आदिवासी भाषा प्रशिक्षित गरिएको छ । स्वयंसेवकहरू सबै वडामा परिचालन भएका छन्,’ उनले भने, ‘युवादेखि ज्येष्ठ नागरिकसम्म मतदाताहरूले सक्रिय सहभागिता जनाएका छन् । सिक्न खोजेको देखिन्छ ।’

See More On

सुझावित समाचार