प्रेरक प्रसंग : असल सन्तान

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

कुनै समय एक गाउँका मुखियाको अचानक निधन भयो । उनका तीन छोरा थिए । तीनै छोराले पिताको अन्तिम संस्कारको तयारी गरे । गाउँले जम्मा भए । शवलाई घाटतिर लाने तयारी पूरा गरी जब शवयात्रा सुरु भयो, तब अचानक छिमेकी गाउँका मुखिया त्यहाँ आइपुगे । 

छिमेकी गाउँका मुखियाले मृतक मुखियाका छोराहरूलाई सम्बोधन गर्दै भने– बाबु हो ! तिमीहरूका बाबुले मसँग १० लाख ऋण लिएका थिए । अब बुबाको मृत्युपछि उनको सम्पत्तिका असली हकदार पनि तिमीहरू नै भएकाले सो ऋण पनि तिमीहरूले नै तिर्नुपर्छ । मेरो ऋण नतिरी यो शव जलाउन पाउँदैनौ । त्यसैले, पहिले मेरो ऋण तिर अनि बुबाको दाहसंस्कार पूरा गर । 

छिमेकी गाउँका मुखियाको कुरा सुनिसकेपछि तीनै भाइले एक स्वरमा भने– बुबाले कहाँकहाँ, कोकोसित र कति ऋण लिनुभएको थियो, त्यसको हामीलाई मतलब छैन । हामी कसैको ऋण तिर्न सक्दैनौँ । दाहसंस्कार गर्न नदिने भए तपाईं आफैँ यो शव लानुहोस् र जे गर्न मन लाग्छ, त्यही गर्नुहोस् । 

मलामीमा भेला भएका गाउँलेले मृतक मुखियाका छोरालाई सम्झाउन सक्दो कोसिस गरे । तर, तिनले गाउँलेका कुरा सुन्नै चाहेनन् । अचानक यसबारे बिहे भएर पल्लो गाउँ पुगेकी मुखियाकी छोरीले थाहा पाइन् । उनी हतारहतार त्यहाँ आइपुगिन् र गहनाको एउटा पोको छिमेकी गाउँका मुखियासामु राखेर रुँदै हात जोडेर भनिन्– मेरो यो गहना लिनुहोस् र बजारमा लगेर बेच्नुहोस् । यसबाट जति आउँछ, त्यति लिनुहोस् । अपुग रकम म बिस्तारै तिर्नेछु । कृपया मेरो बाबाको अन्तिम संस्कार नरोकिदिनुहोस् । 

मृतक मुखियाकी छोरीको कुरा सुनेपछि आँखाभरि आँसु पारेर छिमेकी गाउँका मुखियाले भने– छोरी तिम्रा बाबाले मसँग होइन, मैले चाहिँ उहाँबाट १० लाख ऋण लिएको थिएँ । सो रकमको असली उत्तराधिकारी को हो भनेर पत्ता लगाउन मैले यो नाटक गरेको हुँ । यो रकमको असली उत्तराधिकारी तिमी नै रहिछ्यौ । तिमी धन्य छ्यौ छोरी ! छिमेकी गाउँका मुखियाको कुरा सुनेर मृतक मुखियाका छोराहरूले लाजले टाउको झुकाए ।

सुझावित समाचार