रामेछाप बस दुर्घटना अपडेट : बेपत्ता एकको शव भेटियो, मृतकको संख्या चौध पुग्यो, अझै एक बेपत्ता

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

गत सोमबार भएको बस दुर्घटनामा परी हराइरहेका एक युवकको शव मंगलबार सुनकोशी नदीकिनारमा भेटिएसँगै मृतकको संख्या १४ पुगेको छ । गत सोमबार रामेछापको मन्थली नगरपालिका– ६ भलुवाजोरस्थित लिलौतीको भिरमा बस दुर्घटनामा परी तामाकोशी नदीमा झरेको थियो । उक्त बस दुर्घटना स्थलबाट करिब २५० मिटर दक्षिण सुनकोशी नदीमा उक्त शव फेला परेको हो । उक्त शव रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका– ६, गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिम्सिनाले जानकारी दिए । 

मृतकको शव मंगलबार दिउँसो सुनकोशी नदीकिनारमा स्थानीयहरूले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरी र मृतकका आफन्तले शव पहिचान गरी घटनास्थल मुचुल्का उठाई शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ । बस दुर्घटनामा हराएका तीनमध्ये सोमबार (हिजो) मात्र मन्थली नगरपालिका– २, कठजोरका नाै वर्षीय बालक क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट बजारनजिक सुनकोशी किनारमा फेला परेको थियो ।

बस दुर्घटनामा परी हराइरहेका लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङका आठ वर्षीय रोनिश तामाङको अवस्था भने अझै अज्ञात रहेको छ । उनको सशस्त्र प्रहरीको गोताखोर, नेपाल प्रहरी र उनका आफन्तहरूले खोजीकार्य जारी राखेका छन् ।

सोमबार (माघ २७ गते) काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ–सिरिसे–ढाँडे हुँदै ओखलढुंगातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको पूर्वअरनिको यात्रुवाहक बस मन्थली नगरपालिका– ६ स्थित त्रिवेणी मन्दिरनजिकै दुर्घटनामा परी १२ जनाको ज्यान गएको थियो । उक्त गाडीमा सवारमध्ये तीन बालक बेपत्ता भएका थिए भने आठ यात्रु घाइते भएका थिए । 

सुझावित समाचार