बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका १३ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ।
सोमबार गरिएको नियमित अनुगमनका क्रममा दुई पसललाई तत्काल नगद जरिवाना गरिएको विभागले जनाएको छ। थिमिले स्टोरलाई ११ हजार रुपैयाँ तथा न्यु म्याक्स स्टोरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमनका क्रममा केही डेरी उद्योगबारे थप अनुसन्धान आवश्यक देखिएकाले सम्बन्धित कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ। हिमालय डेरी प्रोडक्ट्स प्रालिलाई तीन दिनभित्र तथा पुप्सा डेरी प्रालिलाई सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
त्यसैगरी, अन्य नौ फर्मलाई सामान्य सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। भैरव खाद्यान्न सप्लायर्स, सविन स्टोर, एसजी स्टोर, दिलीप स्विट हाउस तथा न्यु खड्का किराना भण्डारलाई आवश्यक सुधार गर्न भनिएको छ।
यस्तै इन्द्रायणी डेरी प्रालि, जय सञ्जीवनी डेरी उद्योग, जगदम्बा डेरी फुड एन्ड बेभरेज प्रालि तथा गायत्री स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिलाई पनि सुधारात्मक निर्देशन दिइएको छ।
विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण तथा व्यवसायमा नियमनात्मक अनुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइने जनाएको छ।