सिराहाको लहान नगरपालिका– १३, घलेटोलमा काट्न तयार रहेको उखुमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलको उखु जलेर नष्ट भएको छ।
आगलागीमा स्थानीय २५ जना किसानले करिब ३० बिघा क्षेत्रफलमा लगाएको उखु जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ। उखु खेतको मध्यभागबाट सोमबार दिउँसो सल्किएको आगोले काट्न तयार भएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए।
उनका अनुसार दिउँसो १ बजेतिर उखु खेतमा आगो लागेको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर स्थानीय बासिन्दाको सहयोगमा मानवबस्तीमा जानबाट रोकिएको थियो। आगो निभाउन लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रले करिब ४ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको उनले बताए। उनका अनुसार आगलागीको विषयमा अनुसन्धान थालिएको छ।
उखुबारीको मध्यभागबाट आगो सल्किएकाले उखुबारीभित्र पसेर चुरेट, बिँडी पिएपछि ठुटो फालेर हिँडेको वा नियतवश आगो लगाएको हुन सक्ने आशंका गरिएको छ।
उखु रोप्न र रोपिसकेपछि पनि मलखाद, सिँचाइको अभाव झेल्दै दुःख गरेर हुर्काएको उखु काटेर बेच्ने वेलामा आगलागीको चपेटामा परेपछि ठुलो मर्का परेको पीडित किसान विष्णु यादवले बताए। ‘उखु बेचेर घरायसी व्यवहारमा लागेको ऋण तिर्ने योजना थियो,’ उनले भने, ‘लागतसमेत डुब्यो। आगो जसले लगाएको भए पनि किसानमारा अपराध गरेकाले पत्ता लगाएर हदैसम्मको कारबाही हुनुपर्ने अर्का पीडित रामलखन मण्डलले बताए।
उखु रोप्नुअघि र रोपेपछि आवश्यकताअनुसार मलखाद, सिँचाइ हुँदा औसतमा प्रतिकट्ठा ३० देखि ३५ क्विन्टल उब्जनी हुने उखु चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल ६२० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी ६९० रुपैयाँ आम्दानी हुने किसान रामदयाल मण्डलले बताए। उनका अनुसार ३० बिघा क्षेत्रफलको उखुको औसत हिसाब निकाल्दा पनि १८ हजार क्विन्टलको एक करोड २४ लाख २० हजार रुपैयाँबराबरको क्षति भएको छ।