तीन वाणिज्य बैंक कारबाहीमा

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले एनआइसी एसिया, ग्लोबल आइएमई र नेपाल एन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो। आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमासमा नियम उल्लंघन गरेकाले यी बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले सोमबार एक सूचनामार्फत जानकारी दिएको छ।

एनआइसी एसिया बैंकले बारम्बार निर्देशन उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेकाे तथा लिखित आदेशको समेत पालना नगरेकाले बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई जनही दुई लाख नगद जरिवाना गराएको राष्ट्र बैंकले जनाएको छ।

बाँकी दुई बैंकलाई भने सचेत गराइएको सूचनामा उल्लेख छ। ग्लोबल आइएमई बैंक पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेकाले कारबाहीमा परेको हो। बैंकले एजिङ वाइज कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी व्यवस्था पालना नगरेको बताइएको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चार नियम उल्लंघनका कारण कारबाहीमा परेको हो। बैंकले कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहीछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकृतिका कर्जाहरूको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले कायम गरेको तथा त्रैमासको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरेको र उक्त कर्जाहरूलाई कर्जा असुलीमा प्रयोग गरेको पाइएको सूचनामा उल्लेख छ।

सुझावित समाचार