आयल निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल एक रुपैयाँ र डिजेल तथा मट्टीतेल समान तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको छ । मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५७ र डिजेल तथा मट्टीतेल एक सय ४२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्य आउँदा पेट्रोल १.५१ रुपैयाँ र डिजेल ५.०२ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ । आइओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । त्यसकै आधारमा निगमले नेपाली बजारमा मूल्य निर्धारण गर्दै आएको छ ।
मूल्य बढेपछि तराईमा पेट्रोल एक सय ५४.५० र डिजेल तथा मट्टीतेल एक सय ३९.५० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ । त्यस्तै, सुर्खेत र दाङमा भने पेट्रोल एक सय ५६ र डिजेल तथा मट्टीतेल एक सय ४१ रुपैयाँ निर्धारण गरिएको छ । ढुवानी लागतमा पर्न गएको अन्तरका कारण निगमले फरक–फरक मूल्य निर्धारण गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारको असर
अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको असर नेपालमा पनि परेको हो । आइओसीले प्रत्येक १५ दिनको औसत मूल्यलाई गणना गरेर नेपालका लागि नयाँ खरिद मूल्य तोक्ने गरेको छ । १ फेब्रुअरीमा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ६६.३१ डलर प्रतिब्यारेल थियो । आइतबार साँझ उक्त मूल्य ६७.७५ डलर प्रतिब्यारेल कायम भएको थियो । तर, यसबिच कच्चा तेलको भाउ बढेर ६९.४७ डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
यसरी उतारचढाव भएको उच्च र न्यून मूल्यबिच १५ दिनको औसत निकालेर आइओसीले नेपाललाई बिक्री मूल्य तोक्ने गरेको छ । औसत मूल्य बढेकाले नेपालले खरिद गर्ने मूल्य पनि बढेको निगमले जनाएको छ । १५ तारिखमा पेट्रोल, डिजेल र मट्टीतेलको मात्रै नयाँ मूल्यसूची आउने गरेकाले सोहीअनुसार आइतबार नेपालमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १ तारिखमा भने पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको नयाँ मूल्य आउने गरेको छ ।
१५ दिनअघि पनि बढेको थियो डिजेलको भाउ
मुलुकभर खपत हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको हिस्सा सबैभन्दा धेरै ६० प्रतिशत छ । त्यसैले, डिजेलको भाउ थोरै मात्र तलमाथि हुँदा आयल निगमको नाफा–नोक्सानमा प्रत्यक्ष असर पर्ने गरेको छ । निगमले पनि डिजेलको भाउमा सकेसम्म नाफा राखेर मात्रै बिक्री गर्दै आएको छ । निगमले १५ दिनअघि १७ माघबाट लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ बढाएको थियो । त्यतिखेर मूल्यवृद्धि गरी डिजेल र मट्टीतेलको भाउ काठमाडौं उपत्यकामा प्रतिलिटर एक सय ३९ रुपैयाँ कायम गरिएको थियो । अहिले पुनः वृद्धि गरिएको हो ।
१५ दिनअघि मूल्य बढाउँदा निगमले आइओसीबाट बढेर आएको जानकारी गराएको थियो । १७ माघमा आइओसीले डिजेलको भाउ ४.६६ रुपैयाँ प्रतिलिटर बढाएर पठाएकाले नेपाली बजारमा प्रतिलिटर तीन रुपैयाँ बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको थियो । त्यतिखेर आन्तरिक हवाई इन्धन प्रतिलिटर एक र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर ७ डलरले घटाइएको थियो ।
निगमका अनुसार उक्त समयमा हवाई इन्धनको भाउ १.०८ रुपैयाँ प्रतिलिटर घटेर आएकाले समायोजन भएको थियो । १५ दिनअघि पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आए पनि निगमले समायोजन गरेको थिएन ।