नेपाल र स्विट्जरल्यान्डबिचको आर्थिक सम्बन्ध सुदृढ हुँदै गएको नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनएससिसिआई)ले बताएको छ । स्विट्जरल्यान्डले एनएससिसिआईको १०औँ वार्षिक साधारणसभामार्फत यस्तो बताएको हो । कार्यक्रममा एनएससिसिआईका अध्यक्ष खेमराज लकाईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यापार, लगानी र साझेदारी बढाउनका लागि आगामी कार्ययोजना सार्वजनिक गरे ।
सन् २०२६ मा यी दुई देशबिचको द्विपक्षीय सम्बन्धको ७०औँ वार्षिकोत्सवसमेत मनाइँदै छ । एनएससिसिआईले नेपाली र स्विस निजी क्षेत्रलाई जोडेर व्यापार, नवप्रवर्तन र दिगो विकासका लागि थप अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । कार्यक्रमका नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियलले नेपाल र स्विट्जरल्यान्डको साझेदारी पछिल्ला सात दशकमा सहायताबाट व्यापारतर्फ विकसित भएको बताइन् । १९५० को दशकमा भूगर्भविद् टोनी हेगनको सर्वेक्षणबाट सुरु भएको यो सम्बन्ध सन् १९५६ मा आधिकारिक विकास साझेदारीमा परिणत भएको बताइएको छ ।
एनएससिसिआईका अनुसार स्विस सहयोगमा नेपालभर १० हजारभन्दा बढी झोलुंगे पुल निर्माण सम्पन्न भइसकेका छन् । यस्तै, नेपालको संघीयतालाई सुदृढ बनाउन वित्तीय पारदर्शिता र डिजिटल उपकरणमार्फत सहयोग प्रदान गरिएको जनाइएको छ । साना तथा मझौला उद्योग (एसएमई)को वृद्धि र सन् २०२४ को हवाई सेवा सम्झौताले पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपेको छ । जलवायु उत्थानशीलता, विपत् जोखिम न्यूनीकरण र हिमालयी क्षेत्रको दिगोपनका लागि इसिमोडमार्फत सहयोग जारी रहेको छ,’ एनएससिसिआईको भनाइ छ ।