४० स्थानीय तहले बनाए ऊर्जा दक्ष भवन निर्माणसम्बन्धी नीति : २६४ वटा हरित भवन निर्माण

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

नेपालको ऊर्जा दक्ष, न्यून–कार्बन तथा जलवायु उपयुक्त भवन निर्माण प्रवद्र्धन गर्ने लक्ष्यसहित सञ्चालन गरिएको चारवर्षे ‘बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल’ (बिन) परियोजनाअन्तर्गत दुई सय ६४ भवन निर्माण गरिएको छ ।

अस्ट्रियाको युनिभर्सिटी अफ इन्सब्रुकको नेतृत्वमा नेपालका मिनर्जी प्रालि, भारतको ग्रिनटेक नलेज सोलुसन्स प्रालि र स्पेनको एसोसियासियोन एस्पान्योला दे नोर्मालिसासियोनको सहकार्यमा सञ्चालन भएको परियोजना बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ६० स्थानीय तहमा कार्यान्वयन गरिएको थियो । यी भवनहरूमा गरिएको अध्ययनले भित्री तापक्रममा ९ डिग्री सेल्सियससम्मको भिन्नता र ८८ प्रतिशतसम्म ‘डिसकम्फर्ट आवर’ (असहज समय)मा कमी आएको देखाएको परियोजनाले जारी विज्ञप्तिमा जनाएको छ । यस अवधिमा परियोजनाले सूक्ष्म, साना तथा मध्यम उद्यम (एमएसएमइज)लाई तालिम र सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

यसैगरी, निष्क्रिय शीतलीकरण (प्यासिभ कुलिङ) र हलो बिक्रिसजस्ता नवीन प्रविधिको प्रवर्द्धन, नीतिगत संवादमा सहयोग तथा ऊर्जा–दक्ष भवनका बहुआयामिक फाइदाबारे जनचेतना अभिवृद्धि गरेको बताइएको छ । यस अवधिमा ४० स्थानीय तहले ऊर्जा दक्ष भवन निर्माणसम्बन्धी उपनियम वा कार्यविधि स्वीकृत गरेका छन् । 
साथै, राष्ट्रियस्तरका तीनवटा र प्रदेशस्तरको एकवटा नीतिगत दस्ताबेज तयार पारिएको छ । भवन निर्माण क्षेत्रमा आबद्ध नौ सय ६१ साना तथा मझौला उद्यमलाई ऊर्जा दक्ष डिजाइन, सामग्री उत्पादन र प्रविधिसम्बन्धी तालिम प्रदान गरिएको छ ।

सुझावित समाचार