नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । लगातार दोस्रो तथा तेस्रोपटक विश्वकप खेलिरहेको नेपाल आइतबार दसौँ संस्करणको समूह ‘सी’मा लगातार तीन खेलमा पराजित हुँदै बाहिरिएको हो । प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा दुईपटकको विश्व विजेता वेस्ट इन्डिजले नेपाललाई नौ विकेट हरायो ।
यसअघि नेपाल इंग्ल्यान्डसँग ४ रन तथा इटालीबाट १० विकेटले पराजित भएको थियो । मुम्बईको वानखेडे रंगशालामा टस हारी ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर १३३ रन बनाएको थियो । प्रत्युत्तरमा वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर १३४ रन जोड्यो । लगातार तीन जितका साथ वेस्ट इन्डिज सुपर ८ मा पुग्ने पहिलो टोली बन्यो । वेस्ट इन्डिजले इनिङ्स सकिनु २८ बलअघि जित हात पारेको हो । गत वर्षको सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग युएईमा तीन टी–२० आई सिरिज खेलेको थियो ।
जसमा नेपालले ऐतिहासिक रूपमा वेस्ट इन्डिजलाई २–१ ले हराउँदै सिरिज जितेको थियो । त्यसवेला नेपालविरुद्ध प्रतिस्पर्धा गरेको वेस्ट इन्डिजमा १५ मध्ये १२ खेलाडी दोस्रो रोजाइका थिए । यसपटक विश्वकपमा नेपालविरुद्ध भिडेको वेस्ट इन्डिज पहिलो सेटको हो । वेस्ट इन्डिजको सानदार जितमा ओपनर ब्रान्डन किङ र कप्तान साई होपले पहिलो विकेटका लागि ५.३ ओभरमा ४३ रन जोडेका थिए । नेपालका नन्दन यादवले एक मात्र विकेट किङको लिएका हुन् ।
किङले १७ बलमा चार चौका प्रहार गरी २२ रन जोडे । त्यसपछि साई र सिमरोन हेटमेयरले दोस्रो विकेटका लागि ५९ बलमा ९१ रन जोड्दै टोलीलाई जित दिलाए । साईले ४४ बलमा तीन छक्का र पाँच चौकाको सहयोगमा ६१ तथा हेटमेयरले ३२ बलमा दुई छक्का र चार चौका प्रहार गरी ४६ रन बनाए । नेपालको बलिङमा लेग स्पिनर सन्दीप लामिछानेले तीन ओभरमा ३८ रन दिएका थिए । नेपालका बलर सोमपाल कामीले वेस्ट इन्डिजविरुद्ध ब्याटिङमा चुकेको बताए । ‘राम्रो स्कोर बनाउनुपर्ने अवस्थामा ब्याटिङमा चुकेका छौँ,’ उनले भने, ‘वेस्ट इन्डिजविरुद्ध योभन्दा राम्रो खेल्नुपर्ने थियो ।’ वेस्ट इन्डिजका कप्तान साईले स्पिनरको दबाबमा नेपालमाथि जित निकालेको बताए ।
चालू विश्वकपमा सुपर ८ मा स्थान बनाउने पहिलो राष्ट्र बनेको वेस्ट इन्डिजले आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डमाथि सानदार जित निकालेको थियो । वेस्ट इन्डिजले आफ्नो अन्तिम खेलमा इटालीको सामना गर्नेछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्नेछ । समूह ‘सी’बाट इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीमध्ये एक राष्ट्र सुपर ८ मा पुग्नेछ । यी तीनवटै राष्ट्रको अर्को चरणमा पुग्ने सम्भावना यथावत् छ ।
ब्याटिङ युनिट असफल भयो
रोहितकुमार पौडेल, कप्तान, नेपाल
वानखेडेमा बिहान ब्याटिङ गर्दा चुनौतीपूर्ण थियो । म्याथ्यु फोर्ड, अकिल होसेन र जासन होल्डरले पावर प्लेमा गरेको बलिङका कारण चुनौतीपूर्ण रह्यो । हाम्रो ब्याटिङ युनिट फेरि असफल भयो । हामीले यस क्षेत्रमा सुधार गर्नुपर्छ । हामी ब्याटिङ साझेदारीमा चुकेका छौँ । २० वा ३० रनको साझेदारी भयो, तर त्यसलाई लम्ब्याउन सकेनौँ ।
सबै खेल जित्न आएका हौँ
साई होप, कप्तान, वेस्ट इन्डिज
नेपालले राम्रो खेल खेलेको हो । हामीले बढी स्पिनर प्रयोग ग¥यौैँ । त्यसैले नेपाललाई दबाबमा राख्न सफल भयौँ । हामी यहाँ सबै खेल जित्न आएका हौँ । यो क्रमलाई निरन्तरता दिनुपर्छ । लक्ष्य पछ्याउँदा नेपाली बलरविरुद्ध सुरुदेखि नै आक्रामक हुने योजना बनाएका थियौँ ।
सामाजिक सञ्जालबाट
टाढा रहन सुझाव
नेपालका प्रशिक्षक स्टुवार्ट लले खेलाडीहरू सामाजिक सञ्जालमा केन्द्रित रहँदा प्रदर्शनमा प्रभाव परेको बताएका थिए । त्यसवेला प्रशिक्षक स्टुवार्टको प्रतिक्रियालाई धेरै खेलाडीले व्यक्तिगत धारणा भनी पन्छिन खोजेका थिए । तर, आइतबार वेस्ट इन्डिजबाट नौ विकेटले पराजित भएपछि सबैभन्दा सिनियर खेलाडी सोमपालले भने खेलाडीहरू सामाजिक सञ्जालबाट टाढा बसेको नै राम्रो हुने भनाइ राखेका छन् । यसैगरी, युवा खेलाडी गुल्सन झाले महत्वपूर्ण खेल भएको दिन आफू सामाजिक सञ्जालबाट टाढा नै रहने बताए । ‘मलाई अरू खेलाडीबारे थाहा भएन, मचाहिँ विश्वकपजस्तो महत्वपूर्ण प्रतियोगितामा सामाजिक सञ्जालबाट बाहिर नै बस्न रुचाउँछु,’ झाले भने, ‘म स्वतन्त्र माहोलमा बस्न चाहन्छु ।’
खकुरेलपछि अर्धशतक बनाउने ऐरी
पहिलो ब्याटिङ गरेको नेपालका शीर्ष तीन ब्याट्सम्यान फेरि एकपटक चुकेका छन् । नेपालले पावर प्लेमा १७ रन बनाउँदा शीर्ष तीन खेलाडी पेभेलियन फर्किए । इनिङ्सको ०.५ ओभरमै ओपनर कुशल भुर्तेल, ३.१ ओभरमा कप्तान रोहितकुमार पौडेल र ४.१ ओभरमा आसिफ शेखको विकेट गुमेको थियो । कुशलले १, आसिफले ११ तथा रोहितले ५ रन बटुले । ६.३ ओभरदेखि १४.६ ओभरसम्म नेपालको ब्याटिङ कमजोर रह्यो ।
वेस्ट इन्डिजका कप्तान साईले यी ओभरमा स्पिनर प्रयोग गरेका थिए । नेपाली खेलाडीले वेस्ट इन्डिजका अनुभवी स्पिनरविरुद्ध डटेर खेल्न सकेनन् । जसका कारण नेपालको रनरेट पनि कमजोर बन्यो । आरिफ शेखले २, लोकेश बमले १३ तथा गुल्सन झाले ११ रन जोडे । ब्याटिङ पिचमा गतिलो प्रदर्शन गर्न नसके पनि दीपेन्द्रसिंह ऐरी र अलराउन्डर सोमपाल कामीले सातौँ विकेटका लागि २६ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई १९.२ ओभरमा १२७÷७ को अवस्थामा पुर्याए ।
यसैक्रममा अलराउन्डर ऐरीले पनि व्यक्तिगत रूपमा विश्वकपमा पहिलो अर्धशतक लगाए । विश्वकपमा नेपाली खेलाडीमध्ये अर्धशतकीय इनिङ्स खेल्ने उनी दोस्रा हुन् । सन् २०१४ को विश्वकपमा डेब्यु गरेको संस्करणमै नेपालका लागि ओपनर सुभाष खकुरेलले अर्धशतक ठोकेका थिए । दीपेन्द्रले वेस्ट इन्डिजविरुद्ध ४७ बलमा ५८ रन बटुले । नेपाली खेलाडीबाट १२ वर्षपछि अर्धशतक बनेको हो । सुभाषले अफगानिस्तानविरुद्ध ५३ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५६ रन जोडे । ऐरीले सुभाषको रेकर्ड पनि तोडेका छन् । वेस्ट इन्डिजविरुद्ध ऐरीले गुल्सन झासँग २६ बलमा २७ रनको साझेदारी गरे ।