कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले जलविद्युत् परियोजनाहरूमा हरेक परिवारलाई हजार कित्ता सेयर उपलब्ध गराउने र भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएको छ । आइतबार ‘निर्वाचन प्रतिबद्धता–पत्र’ सार्वजनिक गर्दै अध्यक्ष घिसिङले पार्टीको लक्ष्य सार्वजनिक गरेका हुन् ।
‘सम्पूर्ण घरपरिवारलाई प्राथमिक सेयर मूल्यमा कम्तीमा हजार कित्ता जलविद्युत् आयोजनाको सेयर उपलब्ध गराइनेछ । गरिब परिवारलार्ई प्राथमिक सेयर किन्न सहुलियत ऋण उपलब्ध गराइनुका साथै योजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई सेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था मिलाइनेछ,’ प्रतिबद्धता–पत्रमा भनिएको छ । जलविद्युत् आयोजनाको राजस्वबाट २० प्रतिशत जलविद्युत् कोषमा राखी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गर्ने काममा खर्च गर्ने, सन् २०३० सम्म १२ हजार विद्युत् उत्पादन गर्ने पनि भनिएको छ । त्यस्तै, भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाएर सम्पत्ति राष्ट्रियकरण गर्ने, भ्रष्टाचार ठहर भएपछि उजुरी दिनेलाई फैसलाको रकमको ५ प्रतिशत सूचनादातालाई दिने घिसिङले प्रतिबद्धता जनाएका छन् ।
विश्वविद्यालय शिक्षा निःशुल्क प्राप्त गर्ने व्यवस्था मिलाउने महत्वाकांक्षी योजना अगाडि सार्दै स्मार्ट स्कुल अभियान चलाउने, डिजिटल आइडीबाट किसानको खातामा सिँचाइ, मल, बिउ र बिमाको अनुदान उपलब्ध गराउने, दलीय ट्रेड युनियनहरू खारेज गर्ने, एक दशक समृद्धिको अभियान चलाउने प्रतिबद्धता जनाइएको छ । हाइड्रो, कृषि, पर्यटन, पूर्वाधार, आइटीलगायतका क्षेत्रमा वार्षिक नौ लाखका दरले विभिन्न क्षेत्रमा ५ वर्षमा ४५ लाखलाई रोजगारी दिने प्रतिबद्धता जनाइएको छ । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मुख्य नाराका साथ अगाडि सारिएको घोषणापत्रले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रशासनिक खर्च घटाउन प्रतिनिधिसभालाई २७५ सदस्यीयबाट घटाएर २०१ र प्रदेश सभा सदस्य संख्या ५५० बाट ३३० मा झार्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै, संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ वटामा सीमित गर्ने र राज्यमन्त्री वा सहायकमन्त्री नराख्ने प्रतिबद्धतामा भनिएको छ । त्यस्तै, सन् २०३५ सम्ममा नेपालको अर्थतन्त्रलाई १११ अर्ब अमेरिकी डलर पुर्याउने र प्रतिव्यक्ति आय करिब ४ हजार डलर पुर्याएर मुलुकलाई मध्यम आय भएको राष्ट्रमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाइएको छ । ‘सन् २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट विद्युत् उत्पादन गरी भारत, बंगलादेश र चीनतर्फ निर्यात गर्ने लक्ष्य राखिएको छ । विद्युत् निर्यातबाट वार्षिक ५ अर्ब डलर राजस्व प्राप्त गर्ने र ‘कार्बन न्युट्रल नेपाल’को अवधारणालाई अघि बढाउने पार्टीको योजना छ,’ प्रतिबद्धतामा भनिएको छ ।