काठमाडौंमा भएका दुई दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। गोकर्णेश्वर र टोखामा भएका दुर्घटनामा मृत्यु भएको हो।
गोकर्णेश्वर नगरपालिका– २, नयाँपाटी नाम्गेलस्थित सडकमा बा.२ क ९५६० नम्बरको जेसिबीको ठक्करबाट बा.३६ प ५९५ नम्बरको मोटरसाइकलचालक सोही नगरपालिका– ८, शिवपुरीचोक बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय सोनाम विकको शनिबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले जेसिबीचालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका– १ स्थित सडकमा बा.प्र–०२–०५५ प ४९३५ नम्बरको इभी स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटरमा सवार काठमाडौं महानगरपालिका– १३ बस्ने ५६ वर्षीय सुरेशकृष्ण ताम्राकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।