बुकबिल्डिङ विधिमार्फत सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपिओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्सलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पहिलो कारोबारका लागि एक सयदेखि तीन सय रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकिदिएको छ । नेप्सेले शुक्रबार कम्पनीको एक करोड ९० लाख कित्ता सेयर सूचीकृत गर्दै आइपिको मूल्यभन्दा पाँच सय २०.८ रुपैयाँदेखि सात सय २०.८ रुपैयाँले न्यून हुने गरी ओपनिङ रेन्ज तोकिदिएको हो ।
नेप्सेले अंकित मूल्य (फेस भ्यालु)का आधारमा उक्त आधार सीमा तोकेको हो । ओपनिङ रेन्जको सीमा तोक्ने सम्बन्धमा नीतिगत निर्णय गर्ने अधिकार तथा कर्तव्य नेप्सेको सञ्चालक समितिलाई छ । ०६८ सालमा सञ्चालक समितिले नेटवर्थ वा फेस भ्यालुका आधारमा ओपनिङ रेन्ज तोक्ने निर्णय गरेको थियो । सूचीकृत हुने कम्पनीको नेटवर्थ वा फेस भ्यालु जति छ, सोही विन्दुदेखि त्यसको तीन गुणा बढी विन्दुसम्मलाई पहिलो कारोबारका लागि रेन्ज तोक्ने नीतिगत निर्णय गरेको थियो ।
विगतमा नेप्सेले अन्य कम्पनीलाई नेटवर्थका आधारमा ओपनिङ रेन्ज तोके पनि रिलायन्स स्पिनिङलाई भने फेस भ्यालुका आधारमा यस्तो सीमा दिएको हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले रिलायन्स स्पिनिङ मिल्सको पहिलो सेयर कारोबारका लागि फेस भ्यालुका आधारमा ओपनिङ तोेकेको बताए । ‘०६८ सालमा सञ्चालक समितिले फेस भ्यालु वा नेटवर्थका आधारमा ओपनिङ रेन्ज तोक्ने निर्णय गरेको थियो । त्यसकै आधारमा रिलायन्स स्पिनिङ मिल्सलाई फेस भ्यालुका आधारमा ओपनिङ रेन्ज तोकिएको हो,’ उनले भने, ‘नेटवर्थमा द्विविधा भएका कारण यो विकल्प प्रयोग गरेका हौँ ।’
बुकबिल्डिङमा बजारबाटै मूल्य निर्धारण हुने हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले तोकेको संस्थागत लगानीकर्तामार्फत सेयरको कट अफ प्राइस तोकिन्छ । र, त्यही मूल्यमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत आइपिओ बिक्री गरिन्छ । त्यसपछि बाँकी ६० प्रतिशत आइपिओ भने कट अफ प्राइसभन्दा १० प्रतिशत सस्तोमा सर्वसाधारणलाई बिक्री गरिन्छ ।
संस्थागत लगानीकर्ताबिच भएको प्रतिस्पर्धाबाट रिलायन्सको सेयरको खरिद मूल्य प्रतिकित्ता ६ सय आठदेखि नौ सय १२ सम्म कायम भएको थियो । त्यसकै आधारमा कम्पनीले सर्वसाधारणलाई ८२०.८० रुपैयाँमा सेयर बिक्री गर्ने प्रस्ताव गरिएको थियो, जुन असार ०८१ मा धितोपत्र बोर्डले स्वीकृति गरेको छ । त्यसरी बजारदेखि निर्धारण भएको र नियामक निकायले स्वीकृति गरेको सेयर मूल्यलाई समेत बेवास्ता गरेर नेप्सेले ओपनिङ रेन्ज तोेकेको हो ।
नेप्सेले तोकेको ओपनिङ रेन्जको विषयमा रिलायन्सले आपत्ति जनाएको छ । कम्पनीले शुक्रबार नै विज्ञप्ति जारी गर्दै यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत भएको बताएको छ ।
बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले यसमा अन्तर्राष्ट्रिय अभ्यास हेर्नुपर्ने बताउँछन् । ‘बुकबिल्डिङमा सेयर मूल्य बजारदेखि नै निर्धारण हुने हो । त्यसलाई धितोपत्र बोर्डले पनि स्वीकृति गरिसकेको हुुन्छ । त्यस्ता कम्पनीको पहिलो सेयर कारोबारका सीमा कसरी तोक्ने भन्ने विषयमा नेप्सेले अन्तर्राष्ट्रिय अभ्यास हेर्नुपर्ने थियो,’ उनले भने, ‘यसरी परम्परागत शैलीमै ओपनिङ रेन्ज तोक्दा बुकबिल्डिङका आइपिओ किनेका लगानीकर्ता स्वत: घाटामा जान्छन् । अन्य कम्पनीलाई पनि बुकबिल्डिङमा आइपिओ निष्कासन गर्न उत्साह हुँदैन ।’ अब यस कम्पनीको नियमित सेयर कारोबार हुन पहिलोपटक ‘स्पेसल प्रि–ओपनिङ सेसन’मा कारोबार हुनुपर्छ । जुन नियमित सेयर कारोबार खुला हुनुभन्दा १५ मिनेटअघि हुन्छ । प्रि–ओपनिङमा जुन मूल्यमा कारोबार हुन्छ । त्यसकै आधारमा नियमित कारोबार अघि बढ्छ ।
यदि प्रि–ओपनमा तीन सयमा सेयर कारोबार नियमित बजारमा सोही विन्दुबाट कारोबार सुरु हुन्छ । नेप्सेको नीतिअनुसार एउटा कम्पनीको सेयर मूल्य दिनमा १० प्रतिशतले मात्रै थप–घट हुन सक्छ । यो नीतिअनुसार यो कम्पनीको स्पेसल प्रि–ओपनमा तीन सयमा कारोबार भएको अवस्थामा पहिलो दिन नियमित कारोबारमा १० प्रतिशतले मूल्य बढ्दा कम्पनीको सेयर मूल्य तीन सय ३० रुपैयाँसम्म पुग्न सक्छ । दैनिक १० प्रतिशतले मूल्य बढेको अवस्थामा ११औँ कारोबार दिनमा मात्रै कम्पनीको सेयर मूल्य सर्वसाधारणले खरिद गरेको भन्दा धेरै हुन जान्छ । दैनिक १० प्रतिशतले मूल्य बढेको अवस्थामा ११औँ कारोबार दिनमा कम्पनीको सेयर मूल्य ८५५.९३ प्रतिशत पुग्न सक्छ । यद्यपि, बजारमा कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भन्ने ग्यारेन्टी हुँदैन । सेयर मूल्य बढ्न नसकेको अवस्थामा लगानीकर्ता घाटामा जान्छन् । ८२०.८० रुपैयाँभन्दा कममा बिक्री गर्ने लगानीकर्ता स्वत: घाटामा जान्छन् ।