शिवरात्रिमा ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा

निर्वाचन प्रहरीसहित चार हजार सुरक्षाकर्मी परिचालन

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण
शिवरात्रिमा ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा

शिवरात्रिको अघिल्लो दिन शनिबार साँझ झकिझकाउ पारिएको पशुपतिनाथ मन्दिर । तस्बिर : संजित परियार/नयाँ पत्रिका

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने दशनार्थीलाई ‘निर्वाचन प्रहरी’ले पनि सुरक्षा दिँदै छ । चार हजार सुरक्षाकर्मी परिचालन गरिएकामा पाँच सय ‘निर्वाचन प्रहरी’ छन् । आइतबार शिवरात्रिका लागि शनिबारदेखि नै सुरक्षा व्यवस्था गरिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिचालित सुरक्षाकर्मी तीन सिफ्टमा खटिनेछन् । दर्शनार्थीको लाइन व्यवस्थापन गर्नेदेखि आपराधिक गतिविधि नियन्त्रणसम्मका कार्य गर्नेछन् । विशेषगरी यस्ता पर्वमा दर्शनार्थी लुटिने सम्भावना अधिक हुन्छ । लुटपाट नियन्त्रणका लागि ठुलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आउनेको सुरक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको र यसका लागि निर्वाचन प्रहरीसहित झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए । 

शिवरात्रिका लागि आएका बाबाहरू

‘महाशिवरात्रिका लागि आवश्यक सुरक्षाका सबै प्रबन्ध पूरा भएका छन् । यस क्रममा काठमाडौं परिसरको तीन हजार दुई सय, निर्वाचन प्रहरी पाँच सय र बाँकी ट्राफिक प्रहरी खटिँदै छन् । कुल चार हजारहाराहारीमा सुरक्षाकर्मी परिचालनमा तीन हजार दुई सय प्रहरी, पाँच सय निर्वाचन प्रहरी र बाँकी ट्राफिक प्रहरी तैनाथ हुँदै छन्,’ उनले भने । 

प्रहरीका अनुसार पर्वभर सिसिक्यामेरा र ड्रोनबाट समेत सुरक्षा निगरानी गरिनेछ । ५० भन्दा धेरै सिसिक्यामेरा र दर्जनभन्दा धरै ड्रोन क्यामेरा सञ्चालनमा ल्याइनेछ । यसका लागि प्राविधिक व्यवस्थापन भइसकेको डिएसपी बुढाथोकीले बताए । उनले भने, ‘शिवरात्रि पर्व अवधिभर ड्रोनबाट पनि गस्ती गरिनेछ । सिसिक्यामेराबाट पनि भिडको निगरानी गरिनेछ । शंकास्पद गतिविधिमाथि प्रहरी सक्रिय हुनेछ । शंकास्पद व्यक्तिलाई पक्राउ गरिनेछ । यसका लागि आवश्यक सबै तयारी पूरा भएका छन् ।’

प्रहरीले पर्वभर गाँजा र भाङजस्ता लागुपदार्थ बिक्री–वितरण र सेवनलाई पनि निगरानी गर्नेछ । धार्मिक उद्देश्यबाहेक अन्य तवरले प्रयोग गरिएका गाँजा र भाङ नियन्त्रण गरिने प्रहरीले जनाएको छ । 

May be an image of lighter

May be an image of one or more people and temple

May be an image of text

May be an image of lighter and text

सुझावित समाचार