संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा आयोजित स्थानीय तहस्तरीय 'राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताकाे उपाधि हिमालय माध्यमिक विद्यालयले जितेकाे छ ।
उक्त प्रतियोगितामा खाँदबारीका हिमालय माध्यमिक विद्यालयले २२ स्वर्ण, १५ रजत र १० कांस्य पदक जित्दै प्रथम स्थान हासिल गरेकाे हाे भने १८ स्वर्ण, १२ रजत र ११ कांस्य पदकसहित तुम्लिङटारका मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय दाेस्राे भएकाे खाँदबारी नगरपालिकाका शिक्षा शाखाका हिम भट्टराईले बताए । उनका अनुसार प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र १५ कांस्य पदकसहित खाँदबारीका सूर्य आवासीय माध्यमिक विद्यालय तेस्रो भएकाे छ।
प्रतियोगितामा खाँदबारी नगरपालिकाभित्रका १३ वटा सामुदायिक र ५ वटा निजी विद्यालय गरी जम्मा १८ वटा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियाे। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टस् गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियाेगिताकाे समापनमा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले विजयी खेलाडीहरूलाई सिल्ड तथा मेडल प्रदान गरेका थिए । २९ माघबाट सुरु भएकाे प्रतियोगिता आज (शनिबार) समापन भएकाे हाे।
समापन समाराेहलाई सम्बाेधन गर्दै नगरप्रमुख महेश थपलियाले खेलकुदले विद्यार्थीमा अनुशासन र गतिशीलता भर्ने बताउँदै नगरका विद्यालयहरूमा खेलकुदको वातावरण अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।