लेखक निर्दोष जीवनको नयाँ कृति `प्रेमको सुगन्ध´ सार्वजनिक भएको छ। गजल मञ्च चितवनले प्रकाशन गरेको कृति एक समारोहबिच शुक्रबार गैँडाकोटमा विमोचन गरिएको हो।
काव्य काफिया र वी फाइभको संयुक्त आयोजनामा द नारायणी रिसोर्टमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैँडाकोट नगरपालिका -१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले कृति विमोचन गरेका हुन् ।
कृति विमोचनपछि गैँडाकोट नगरपालिका - १ का वडा अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि सुरेन्द्रप्रसाद रेग्मीले प्रेमले सबैलाई एकताको सूत्रमा बाँड्ने बताए। `प्रेमले मानिसलाई एकताको सूत्रमा जोड्छ । प्रेम दिवसको अवसरमा आएको यो कृतिले सबैलाई प्रेममा समाहित हुन प्रेरित गर्छ,´ रेग्मीले भने।
कार्यक्रमका प्रमुख अतिथि उषा शेरचनले साहित्य संसारमा मुक्तक विधाको विशिष्ट योगदान रहेको बताइन्। `निर्दोष जीवन साहित्य सिर्जनामा सक्रिय भएर लाग्नुभएको छ। उहाँका मुक्तकहरू साँच्चिकै सुन्दर छन्,' शेरचनले भनिन्।
त्यसैगरी अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले निर्दोष जीवनका मुक्तकहरू सरल र लयबद्ध भएको बताए । `प्रेमको सुगन्धमा मुक्तकहरूको विविधता छ,´ सापकोटाले भने, `संग्रहमा प्रेमिल मुक्तकहरू यथेष्ट छन्। सामाजिक विषयवस्तुका मुक्तक पनि छन्। राष्ट्र र राष्ट्रियतालाई सम्बोधन गरिएका मुक्तक पनि छन् । नारी जातिका दु:ख, पीडा समेटिएका मुक्तक पनि छन्, संरचनाका हिसाबले सबै मुक्तक राम्रा छन्।' सापकोटाले संग्रहबाट केही मुक्तक प्रस्तुत गर्दै ती मुक्तकको बारेमा चर्चा गरे। उनले मुक्तककार निर्दोष जीवन बहुमुखी प्रतिभा भएको बताउँदै उनको साहित्यिक सक्रियताको चर्चा गरे ।
मुक्तककार निर्दोष जीवनले प्रेमकै प्रसङ्गमा प्रसिद्ध लेखक पावललाई सम्झिए । लेखक पावलले आफ्नो पुस्तकमा प्रेमको विषयमा खुलेर लेखेको निर्दोषले बताए । यी हरफहरूलाई हृदयदेखि मनन गर्न अनि जीवनमा लागू गर्न सकियो भने साँच्चै जीवनमा प्रेमको सुगन्ध रहिरहने निर्दोषले भने । `कहिल्यै पनि प्रेमको मिठासको अन्त हुनेछैन । प्रेम सधैँ अमर रहिरहनेछ ।' पावलको प्रेम परिभाषालाई उधृत गर्दै निर्दोषले भने, 'प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ । प्रेमको कहिल्यै अन्त्य हुँदैन । अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ । तर प्रेम सधैँ रहिरहने छ ।´
निर्दोष जीवनको `आशीर्वाद´ (गजल, मुक्तक र हाइकूसंग्रह) पहिलो कृति हो । `नयाँ जीवन´, `प्रार्थना´, `मैयाँ´, `कोर्राको चोट´, `फस्ट लभ´, `प्रिय साथी´, `मेरो गीत´ र `नोस्टाल्जिया´ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।