गत वर्षको असोजमा सुनकोशी नदीमा आएको बाढी बगाएको सुनकोशी नदीको पुल बगाएपछि उक्त स्थानमा हाल अस्थायी रूपमा बेलिब्रिज निर्माण भएपछि रामेछापको पश्चिमी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ।
सिन्धुली र रामेछापको सिमाना भएर बहने सुनकोशी नदीले खैरेनीघाटमा रहेको मोटरेबल पुल बाढीले बगाएपछि रामेछापतर्फका पश्चिमी भेगका नागरिकहरूको बिपी राजमार्गसँग सिधा कनेक्सन टुटेको थियो। खैरेनीघाटको पुल नभएपछि वैकल्पिक रूपमा रामेछापका नागरिकहरू काभ्रे र रामेछाप जोड्ने सिन्धुरेटारको पुल तरेर राजधानी जानुपर्ने बाध्यता रहेको थियो भने केही नागरिकहरू खाँडादेवी गाउँपालिकाको भिरपानीस्थित सित्खा पुल तरेर जान बाध्य थिए।
सडक विभागले बाढीले बगाएको स्थानमा १७ महिनापछि बेलिब्रिज जडान गरिदिएपछि मंगलबारबाट सबै यातायातका साधनहरू सहज रूपले सञ्चालनमा आएका खाँडादेवी गाउँपालिका–५ का सुकराम घिसिङले जानकारी दिए। उनले भने– नदीमा भएको पुल बाढीले बगाएपछि रामेछापका धेरै नागरिकहरूलाई समस्या थियो। पुल बगाएपछि बिपी राजमार्ग जान घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो भने केही नागरिकहरू काभ्रे निस्किएर राजधानी जान बाध्य थिए। अहिले उक्त पुल निर्माण भएर सञ्चालनमा आएपछि धेरै सहज भएको घिसिङले बताए
पुल सञ्चालनमा आएपछि पश्चिमी रामेछापका नागरिकहरूलाई धेरै ठुलो राहत मिलेको छ। उक्त पुल हुँदै सहजै सिन्धुलीको बिपी राजमार्ग निस्केर राजधानी जान सहज हुने भएपछि पश्चिमी रामेछापका खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र सुनापति गाउँपालिकाका गरी तीनवटा गाउँपालिकाका नागरिकहरू सोही पुल प्रयोग गर्ने गर्दछन्।