कर्जा प्रवाह सुस्त हुँदा अझै तल झर्‍यो बैंकको ब्याजदर

वाणिज्य बैंकको कुल निक्षेप ६९ खर्ब ६२ अर्ब र कर्जा प्रवाह ५१ खर्ब ५० अर्ब पुगेको छ

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

निक्षेप थुप्रिँदै जाने र कर्जा प्रवाह सुस्त हुँदा बैंकहरूले निक्षेपको ब्याजदर फेरि घटाएका छन् । २९ माघमा बैंकहरूले फागुनका लागि निर्धारण गरेको ब्याजदर औसतमा घटेका हुन् । 

माघमा २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दतीतर्फ औसत ब्याजदर ४.६८ प्रतिशत रहेकोमा फागुनमा ४.५६ प्रतिशतमा झारेका हुन् । त्यस्तै, संस्थागत मुद्दतीको ब्याजदर पनि ३.३८ प्रतिशतबाट घटेर ३.३३ प्रतिशत कायम भएको छ । २० वटामध्ये नौ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा लाग्ने ब्याजदर घटाएका छन्, बाँकी ११ बैंकले स्थिर राखेका छन् । त्यस्तै, संस्थागत मुद्दतीमा चारवटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन्, बाँकीले स्थिर बनाएका छन् । 

व्यक्तिगत मुद्दतीमा ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंक छन् । त्यस्तै, संस्थागत मुद्दतीमा ब्याजदर घटाउनेमा ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र सिद्धार्थ बैंक छन् । 

व्यक्तिगत मुद्दतीमा सर्वाधिक ब्याजदर दिनेमा नेपाल बैंक छ । यो बैंकको ब्याजदर ५.१ प्रतिशत कायम राखेको छ । संस्थागतमा यो बैंकले ३.२५ प्रतिशत दिएको छ । हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक र एनएमबि बैंकले व्यक्तिगत मुद्दतीमा ५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत ब्याजदर तोकेका छन् ।

ग्लोबल आइएमई बैंकले माघमा ५.५ प्रतिशत ब्याजदर दिएकोमा फागुनमा घटाएर ४.७५ प्रतिशत कायम राखेको छ । नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा ब्याजदर ४.५५ प्रतिशत कायम राखेका छन् । व्यक्तिगत मुद्दतीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सन्राइज, माछापुच्छ«े र सिटिजन्स बैंकले ४.५ प्रतिशत ब्याजदर तोकेका छन् । कुमारी बैंकले ४.४३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीमा ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

२५ माघसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७७ खर्ब सात अर्ब र कुल कर्जा प्रवाह ५७ खर्ब ८८ अर्ब रुपैयाँबराबर पुगेको छ । वाणिज्य बैंकको कुल निक्षेप ६९ खर्ब ६२ अर्ब तथा कुल कर्जा प्रवाह ५१ खर्ब ५० अर्ब रुपैयाँबराबर पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७४.३७ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । अर्थात्, उनीहरूसँग कुल निक्षेपको १५.६३ प्रतिशतबराबर हुन आउने करिब १२ खर्ब रुपैयाँ अधिक तरलता रहेको देखिन्छ । 

See More On

सुझावित समाचार