पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शक्ति प्रदर्शनको तयारी भएपछि सुरक्षाको कारण देखाउँदै विमानस्थललाई निषेधित क्षेत्र तोकिएको छ । स्वागतका नाममा हुने प्रदर्शनमा घुसपैठ हुन सक्ने र त्यसले विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई जोखिममा पार्ने भन्दै विमानस्थलभित्र कुनै पनि त्यस्ता गतिविधि गर्न रोक लगाइएको हो ।
पूर्वराजा शाह शुक्रबार दिउँसो साढे १२ बजे झापाबाट काठमाडौं आउने कार्यक्रम छ । उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी संघसंस्थाले विमानस्थलमा जान आह्वान गरेका छन् । दुर्गा प्रसाईं नेतृत्वको समूह पनि विमानस्थलमा जाँदैछ । स्वागतका नाममा हुने कार्यक्रममा विमानस्थलको सुरक्षामा असर नपार्न तथा यात्रुहरूलाई अवरोध नगर्न प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्रसमेतको सुरक्षालाई मध्यनजर गर्दै जुलुस, प्रदर्शन, र्याली, भेलालगायत नगर्न र सामाजिक सञ्जालबाट पनि यस्ता गतिविधिका लागि नउस्काउन आग्रह गरेको छ । यस्ता गतिविधि निर्वाचन आचारसंहिताको समेत विपरीत भएको र निर्वाचन विरोधी समूहको घुसपैठ हुन सक्ने भएकाले निषेधित क्षेत्र तोकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताए ।
विमानस्थलको सुरक्षा समितिले पनि विमानस्थल तथा त्यससँग जोडिएको चक्रपथमा प्रदर्शन लगायत कुनै पनि गतिविधि नगर्न यसअघि नै निर्णय गरेको प्रहरीले जनाएको छ । खासगरी दुर्गा प्रसाईको समूहले स्वागतका नाममा चुनाव विरोधी गतिविधि गर्न सक्ने आंकलन गरेर सुरक्षा रणनीति बनाइएको छ । पछिल्लो समय चुनावविरोधी गतिविधि पनि बढ्न थालेको सुरक्षा निकायको सूचना छ ।
स्वागतका नाममा चुनावविरोधी गतिविधि हुन सक्ने भएकाले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले विमानस्थलभित्र कुनै पनि गतिविधि गर्न नपाइने र विमानस्थलभित्रको कार्यक्रमको प्रहरीले सुरक्षा व्यवस्था गर्ने बताए ।