कार्यसम्पादन मूल्यांकनमा सिलिचोङ संखुवासभाको पहिलो

बिहिबार, २९ माघ, २०८२
डिजिटल संस्करण

संखुवासभाका १० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार सिलीचोङ जिल्लाकै पहिलो भएको हो।

सिलिचोङ गाउँपालिका ५५.७८ अंकसहित पहिलो हुँदा ४६.१० अंक प्राप्त गरेको चिचिला गाउँपालिका अन्तिम स्थानमा छ। तथ्यांकअनुसार सभापोखरी गाउँपालिका ५५.०६ अंकसहित दोस्रो हुँदा मादी नगरपालिका ५४.६२ अंकसहित तेस्रो स्थानमा छ।

त्यसैगरी, पाँचखपन नगरपालिका ५४.४७ अंकसहित चौथो, मकालु गाउँपालिका ५३.७० अंकसहित पाँचौँ र खाँदबारी नगरपालिका ५३.१७ अंकसहित छैटौँ स्थानमा छन्। धर्मदेवी नगरपालिका ५१.५२ अंक ल्याएर आठौँ भएको छ भने भोटखोला गाउँपालिका ४६.६२ अंकसहित नवौँ स्थानमा झरेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहका हकमा १७ सूचकमा मूल्यांकन गर्दै आइरहेको छ। १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, आर्थिक वर्ष ०८१-८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको विषयलाई मूल्यांकनको सूचकमा राखिएको छ।

यसैगरी, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ चेक गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा, बालबालिकाको खोपको अनुपात आदिलाई आयोगले मूल्यांकनको आधार मान्ने गरेको छ।

आयोगको नतिजालाई आगामी आर्थिक वर्षको बजेट बनाउनसमेत आधार मानिने हुँदा महत्वका साथ हेरिन्छ।

सुझावित समाचार