- यो सुविधा १ फागुनदेखि कार्यान्वयनमा आउने र ऋणको ब्याजदरजस्ता विषयमा स्पष्ट नभएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा
स्टक ब्रोकरमार्फत ऋण लिएर सेयरबजारमा लगानी गर्न पाउने व्यवस्थापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह बढ्ने अपेक्षाविपरीत बुधबार परिसूचक स्थिर देखिएको छ । बुधबार नेप्से परिसूचक ०.०४ अंक (नगन्य प्रतिशत)ले मात्रै घटेको छ । यसबाट बजारमा लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत देखिएको छ । यो सुविधा नेपाल धितोपत्र बोर्डले १ फागुनदेखि कार्यान्वयनमा ल्याउँदै छ ।
यो साताको सुरुवातदेखि बजार परिसूचक निरन्तर ओरालो लागिरहेको छ । आइतबारदेखि बुधबारसम्म आइपुग्दा परिसूचक ४६.६१ अंकले घटेर २६६२.०९ विन्दुमा आइपुगेको छ । अब ब्रोकरमार्फत नै ऋण लिएर सेयरबजारमा लगानी गर्न पाउने भएपछि बजारमा उत्साह बढ्ने आमअपेक्षा थियो ।
यद्यपि, १ फागुनदेखि कार्यान्वयनमा जाने भएकाले बजारमा कर्जाको मागको प्रवृत्तिले नै सेयरबजारमा यसको प्रभाव देखिने विज्ञहरू बताउँछन् । बुधबार बजारमा आठ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
दुई करोड पाँच लाख कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूहको परिसूचक ०.१ प्रतिशत र विकास बैंक समूह ०.१८ प्रतिशतले बढेको छ । वित्त समूहको परिसूचक ०.२५ प्रतिशतले घटेको छ ।
लघुवित्त समूहको परिसूचक ०.०६ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ०.६३ प्रतिशतले घटेको छ । जलविद्युत् र लगानी समूह केही बढेको छ । निर्जीवन बिमा समूह बढ्दा जीनव बिमा समूह घटेको छ ।
व्यापार समूहको परिसूचक खस्किएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.४६ प्रतिशतले खस्किएको छ । सामूहिक लगानी कोष समूहको परिसूचक ०.३६ प्रतिशतले घटेको छ । अन्य समूहको परिसूचक ०.२४ प्रतिशतले घटेको छ ।
सर्वाधिक मूल्य बढ्नेमा रिडी पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी लिमिटेड छ । कारोबारमा सर्वाधिक रिडी पावर ६५ करोड ४७ लाख रुपैयाँ र आँखुखोला जलविद्युत् कम्पनीको ६२ करोड १४ लाख छ । कुल बजार पुँजीकरण ४४ खर्ब ६९ अर्ब कायम छ ।