आगामी बजेटको सिलिङ तोक्न आज स्रोत समिति बैठक

स्रोत समितिको बिहीबारको बैठकले २१ खर्ब ६८ अर्ब आसपासमा रहेर सिलिङ तोक्दै

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट सिलिङ निर्धारण गर्न बिहीबार राष्ट्रिय स्रोत अनुमान समितिको बैठक आह्वान भएको छ । बिहीबार दिउँसो दुई बजे राष्ट्रिय योजना आयोगमा समितिको बैठक डाकिएको छ । बुधबार आयोगसचिव रविलाल पन्थ नेतृत्वको प्राविधिक समितिको बैठक बसेर बिहीबार स्रोत अनुमानका लागि सहज बनाइएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनअनुसार योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालू आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्नेछ । यद्यपि, अर्थमन्त्रीसमक्ष यो सिलिङ पेस गर्नका लागि ७ फागुनसम्म म्याद तोकिएको छ । 

योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले हाल प्राविधिक समितिले सिलिङको विषयमा काम गरेकाले ७ फागुनसम्ममा सिलिङ पठाइसक्ने जानकारी दिए । उनले भने, ‘हामीले निर्धारित समयमै सिलिङ बुझाउँछौँ ।’ आयोगबाट प्राप्त विवरणका आधारमा अर्थ मन्त्रालयले बजेट सीमा र बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तयार गरी फागुन १५ गतेभित्र मन्त्रालय तथा केन्द्रीय निकायमा पठाउनुपर्ने उल्लेख छ ।

गत आर्थिक वर्षमा तत्कालीन स्रोत समितिले अर्थ मन्त्रालयलाई आव ०८३/८४ मा २१ खर्ब ६८ अर्ब ६५ करोड सिलिङ प्रक्षेपण गरेको थियो । जसमा १४ खर्ब ४३ अर्ब राजस्व उठ्ने प्रक्षेपण थियो । दुई खर्ब ७० अर्ब ३५ करोडको वैदेशिक ऋण र ४७ अर्ब २५ करोडको वैदेशिक अनुदानप्राप्त हुने प्रक्षेपण थियो । चार खर्ब सात अर्ब ७२ करोडको आन्तरिक ऋण उठ्ने प्रक्षेपणसहित स्रोत अनुमान गरिएको थियो ।

सोही आधारमा यसपालि पनि स्रोत समितिले आर्थिक वर्ष ०८३/८४, आव ०८४/८५ र आव ०८५/८६ को त्रिवर्षीय स्रोत अनुमान र प्रक्षेपण गरी अर्थमन्त्रीसमक्ष पेस गर्नेछ । राष्ट्रिय स्रोत अनुमान समितिको संयोजकमा योजना अयोगका उपाध्यक्ष रहने व्यवस्था छ । यसमा आयोगका समष्टिगत आर्थिक क्षेत्र हेर्ने सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थसचिव सदस्य रहने व्यवस्था छ । 

See More On

सुझावित समाचार