चितवनको भरतपुर महानगरपालिकामा बुधबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। बुधबार अपराह्न करिब ४ बजे भरतपुर महानगरपालिका– ७, प्रेमबस्ती स्कुलचोकमा गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको बा.प्र ०३–००१ ह २३८८ नम्बरको अटोलाई भित्री सडकबाट आउँदै गरेको बा.प्र ०१–०२९ च १४१७ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो ।
दुर्घटनामा अटोमा सवार माडी– ७ बस्ने ४४ वर्षीय मीनबहादुर खत्री क्षेत्री गम्भीर घाइते भएका थिए । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको चितवन प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा माडी– ७ कै ७२ वर्षीया हरिकला खत्रीको दाहिने खुट्टा भाँचिएको छ भने ४५ वर्षीया अम्बिका जिसीको खुट्टा र टाउकोमा भित्री चोट लागेको छ । यस्तै, २२ वर्षीय अमित खत्री क्षेत्रीको हातखुट्टामा सामान्य चोट तथा अटोचालक भरतपुर– १२ बस्ने ३३ वर्षीय सूर्य रिमाल निधारमा चोट लागेर घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्कारपियोले स्थानीय जनक गिरीको पूजा सामग्री पसलको सटरमा समेत ठक्कर दिँदा क्षति पुगेको छ। स्कारपियोचालक नवलपुर गैँडाकोट– ६ बस्ने ३४ वर्षीय कृष्ण विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, बुधबार बेलुकी करिब ७ बजे भरतपुर– १५ शीतलचोकमा भएको अर्को दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ । टुरेचोकबाट शीतलचोकतर्फ आउँदै गरेको ना.४ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना.४४प १६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलचालक स्याङ्जा घर भएका करिब २५–२६ वर्षीय सुरज थापा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति मृत्यु भएको चिकित्सकले घोषणा गरेका छन् ।मोटरसाइकलको पछाडि सवार स्याङ्जा हरिनास गाउँपालिका– ४ घर बताउने २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छिन् । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।