संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभञ्ज्याङ बजार अनुगमन गरिएको छ। बुधबार खाँदबारी नगरपालिकाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, संखुवासभा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी र पत्रकार महासंघलगायतको सहभागितामा बजार अनुगमन गरिएको हो।
मानेभञ्ज्याङ बजारको करिब डेढ दर्जन ठुला होलसेल तथा साना किराना खुद्रा पसल, होटेल, खाद्य पसल, हार्डवेयर र तरकारी पसलको अनुगमन गरिएको थियो। अनुगमन टोलीले मानेभञ्ज्याङ बजार क्षेत्रबाट चार हजार ६ सय रुपैयाँबराबरको म्याद गुज्रेका पेय पदार्थहरू बरामद गरी नष्ट गरेको छ।
आमउपभोक्ताको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै नियमित रूपमा बजार अनुगमन गर्ने कार्यलाई तीव्रता दिएको खाँदबारीका प्रशासकीय अधिकृत तथा बजार अनुगमन समितिका संयोजक कमलमणि थापाले बताए। अनुगमन टोलीले पसल दर्ता नवीकरणको अवस्था, खाद्यवस्तु र अखाद्य वस्तुहरू राखिएको अवस्थालगायतको बारेमा अवलोकन गरी आवश्यकताअनुसार सल्लाह, सुझाव र चेतावनीसमेत दिएको छ।
मानेभञ्ज्याङ बजार आसपासमा सरकारी तथा निजी विद्यालयहरू भएको हुँदा विद्यार्थीहरू विद्यालय पोसाकमा धुमपान र मद्यपान नगरुन् भनेर होटेल तथा साना पसलहरूलाई यसबारेमा पनि सचेत गराइएको छ। जानाजान बिक्री-वितरण गरेको भेटिए कानुनी कारबाही हुने चेतावनी दिइएको छ।