६ फागुनबाट भरतपुर विमानस्थलमा आयल निगमले हवाई इन्धन सेवा दिने

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

आयल निगमले भरतपुर विमानस्थलमा ६ फागुनदेखि हवाई इन्धन कार्यालय सञ्चालन गर्ने भएको छ। हवाई इन्धन कार्यालय स्थापना गर्न भरतपुर विमानस्थल र आयल निगमबिच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको हो।

भरतपुर विमानस्थलमा इन्धन भर्ने सुविधा राख्न बुद्ध एयरले ५–६ वर्षदेखि आयल निगमलाई ताकेता गर्दै आएको थियो। भरतपुरमा हवाई इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाटै दुईतर्फी उडानको इन्धन बोकेर जानुपर्ने बाध्यता छ। भरतपुर–काठमाडौं रुटमा बुद्धको मात्रै उडान हुने गरेको छ। त्यहाँ हवाई इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंबाट धेरै तेल बोक्नुपर्ने हुँदा प्रत्येक उडानमा ५–६ सिट खाली राखेर तौल व्यवस्थापन हुँदै आएको छ।

१९ माघमा बसेको सञ्चालक समिति बैठकले भरतपुर विमानस्थलबाट हवाई इन्धन सेवा सुरु गर्न स्वीकृति दिएको निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनीतमणि उपाध्यायले जानकारी दिए।

‘सञ्चालक समितिबाट स्वीकृति पाउनासाथ २० माघमा निगम व्यवस्थापनले पनि भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘त्यहाँ कार्यालय राखेर सेवा सुरु गर्न पनि निर्देशन भइसकेको छ।’

निर्वाचन आचारसंहिताका कारण निगमले भरतपुर विमानस्थलमा दरबन्दी सिर्जना गरेर कर्मचारी खटाउन अप्ठेरो छ। त्यसैले हवाई इन्धन कार्यालय, सिनामंगलमा रहेकामध्ये केही कर्मचारी भरतपुरमा खटाएर इन्धन सेवा सुरु गर्न लागेको उपनिर्देशक प्रदीप यादवले जानकारी दिए।

‘तत्काललाई सिनामंगलस्थित हवाई इन्धन कार्यालयबाट कर्मचारीहरू खटिएर सेवा सुरु हुन्छ, चुनावपछि दरबन्दीअनुसार कर्मचारी खटाइनेछ,’ उनले भने। भारतपुर विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणकै भवन भाडामा लिएर निगमले कार्यालय राख्ने सहमति भएको उनले जानकारी दिए।
 

सुझावित समाचार